अरुण काबेली पावरले सोमबारदेखि शतप्रतिशत हकप्रद सेयर खुला गर्दै

अरुण काबेली पावरले सोमबार भदौ ११ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला गर्ने भएको छ । यस हकप्रदमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।

यसअघि कम्पनीले भदौ ८ गतेदेखि भदौ २८ गतेसम्म हकप्रद सेयर निष्काशन गर्ने जनाएको थियो । तर यसअघि प्रकाशित सूचनामा गल्ती भएकाले भूल सुधार गरिएको भन्दै हकप्रद सेयर निष्काशन गर्ने मिति परिवर्तन गरेको जनाएको छ ।

कम्पनीले १ः१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो। जसअनुसार यसले १ सयअंकित मूल्यमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । उक्त हकप्रद सेयरका लागि यसले असार २५ गते बुक क्लोज गरिसकेको छ ।

तसर्थ, असार २४ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी त्रिपल बी माइनस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्ने क्षमता औसत सुरक्षित रहेको संकेत गर्दछ ।

यसको हकप्रद सेयरमा नबिल इन्भेष्टमेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्नेछ । हकप्रदमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र अरुण काबेलीको कार्यालय ट्रेड टावर थापाथलीबाट आवेदन दिन सकिनेछ । उक्त स्थानबाट आवेदन दिंदा चेकमात्र भुक्तानी हुने कम्पनीले जनाएको छ ।

Comments

Back to top