सफल व्यवसायी शर्मिला शर्मिला सेढाईको जीवन संघर्षको कथा
भनिन्छ सघर्ष गर्ने व्यक्ति कहिँलै हार्दैन । एक दिन उस्ले अवस्य सफलता हासिल गर्छ । जो कठिन परिस्थितिसँग जुधेर अगाडि बढ्दै जान्छ उसले जिन्दगीमा ठुलो सफलता हासिल गर्छ ।
जिम्मेवारी एउटा यस्तो चिज हो जसलाई हामीले कुशलतापूर्वक निभाउन सक्यौँ भने अघि बढ्न सक्छौ तर त्यही जिम्मेवारीलाई बोझको रुपमा लियौ भने त्यो सधै बोझ नै हुने गर्छ । संघर्षले नै मानिसलाई समाजमा उदाहरणीय र प्रिय पात्र बनाईदिन्छ ।
प्राय मानिसहरु आफ्नो कर्तव्य र जिम्मेवारीबाट पन्छिन खोज्छन् भने कोही त्यही समस्यालाई जुध्दै अगाडी बढिरहेका हुन्छन् । यस्तै संघर्ष गरेर अगाडि बढिरहेकी एक व्यक्तित्व जो जिम्मेवारीबाट जुधेर अघि बढ्दै आज यहाँ सम्म आउन सफल पात्रको नाम हो, शर्मिला सेढाई ।
जिन्दगीका तिता मिठा सघर्ष गर्दै सफल बनेकी सेढाई आज एक अब्बल एवम् छुट्टै पहिचान बनाउन सफल व्यापारी बनेकी छन् ।
बुवा केशव सापकोटा र आमा जया सापकोटाको कोखबाट कान्छी सन्तानको रुपमा सेढाईको जन्म वि. स २०२८ साल भदौ २८ गते पोखरामा भएको हो । सुख सुविधामा हुर्केकी उनको एक दिदी र एक भाई थिए बाल्यकाल उनको रमाइलो सगै बित्यो । उनको बाल्यकालदेखी भविस्यमा पढेर ठुलो अफिसर बन्ने रहर थियो । अफिसर बन्न नसके पनि अहिले अफिसर भन्दा ठुलो व्यापारी बनेकी छन् ।
राम्रै पारिवारिक पृष्ठभूमिमा जन्मेकी सेढाईको कथा भने कुनै वियोगान्त चलचित्रको कथा भन्दा कम छैन । यहांँसम्म आउन उनले सयौं पहाड छिचोल्नु परेको छ । सानो परिवार सुखी परिवारमा जन्मेकी शर्मिलाले कुनै कुराको दु: ख र अभावको अनुभव नै भएन ।
उनले आई ए सम्म अध्ययन गरेकी छन् । आमा गृहिणी हुनुहुन्थ्यो भने बुवा पनि एक व्यवसायी नै हुनु हुन्थ्यो । उनको जन्म पोखरामा भए पनि बुवाको व्यापारको सिलसिलामा काठमाडौं जानु पर्यो । उनले प्राथमिक शिक्षा काठमाडौंको कन्या स्कुलमा पढिन् ।
उनको बाल्यकालदेखी भविस्यमा अफिसर बन्ने रहर थियो । हुनपनि सानैदेखि तीक्ष्ण , अब्बल शर्मिलाले अफिसर बन्ने सपना साध्नु कुनै ठूलो कुरा थिएन । उनी काठमाडौ गएको केही बर्षपछि भने व्यवसाय विस्तारको लागि उनको परिवार चितवन आउनु भयो ।
कक्षा पाँच पछि भने उनको शैक्षिक गन्तव्य बन्यो चितवन हाइस्कुल । त्यही विद्यालयबाट उनले २०४५ सालमा एसएलसी उत्तीर्ण गरिन् । तर त्यतिबेलाको परिवेष उनको एसएलसी गरेपछि भने घरमा बिहेको कुरा चल्न थाल्यो । बाबुले भनेपछि राम्रै ठाउंँबाट कुरा आएपछि नाई भन्ने कुरा पनि भएन । आखिर उनको बिहे २०४५ साल माघमा १७ बर्षको उमेरमा चितवन भण्डाराका नवराज सेढाईसँग भयो ।
उनको श्रीमान पनि एक व्यवसायी नै थिए । ‘बुबा व्यवसायी भएर होला उहाँले आफू जस्तै हैसियत भएका व्यवसायी घरमै कुरा छिनिदिनुभयो ।’ उनी विगत सम्झिन्छिन् । बिहे गरेपछि भने घरको काम , विभिन्न कारणले गर्दा पढ्ने ईच्छा हुँदाहुँदै पनि अध्ययनलाई गति दिन सकिनन् अनि आफ्नो अध्ययनलाई प्रवीणता तह पढ्दा पढ्दै बीचमै बीट मार्नुपर्यो।
कुलघरानमै घरजम भएको उनको नयाँ जीवन हांँसी खुशी चल्दै थियो । यसको एकबर्षपछि उनले जेठा छोरा निर्देश सेढाईलाई जन्म दिइन् । त्यसपछि अर्को बर्ष फेरी उनको दोस्रो सन्तानको रुपमा छोरी निगम सेढाईको जन्म भयो ।
यति सानो परिवार हांँसि खुशी संँगै जीवन चल्दै थियो । विडम्बना तर त्यो खुशी धेरै समय टिक्नै सकेन । त्यो परिवारले अकल्पनीय घटना बेहोर्नु पर्यो । २०६१ सालमा शर्मिलाको श्रीमान अकस्मात विरामी भए । अस्पतालमा उपचारका लागि लगियो । डाक्टरहरुले पनि सकेको प्रयास गरे । तर किन हो उनीहरुको पुकार ईश्वरले पनि सुनेनन् । आखिर उनको श्रीमानले सदाको लागि छाडेर गए । त्यो घटना उनले न त बिर्सन सक्छिन् न सम्झन चाहन्छिन् ।‘म त्यो क्षण सपनामा पनि देख्न सक्दिन’ विपनामा सम्झिन पनि चाहन्न ।’उनी भक्कान्छिन् ।
तर भनिन्छ दुख कहांँ छैन , वेदना कहाँ छैन , समस्या कहांँ छैन अनि यो संसारमा अजम्बरीनै को छ र ? यही संसारको रीतलाई बुझेर होला उनले आँसुलाई आँटमा बदलिन , हिम्मत हारिनन् । आखिर परिवारको खम्बानै ढलेपछि घर , परिवार, ती साना बच्चाबच्चीको हेर विचार गर्ने जिम्मा उनको काँधमा आउने नै भयो ।
उनको आलो घाउ सन्चो हुन कत्तिपनि समय लागेन उनले श्रीमानको व्यवसायलाई नै निरन्तरता दिन सक्षम भइन् । बच्चाबच्चीको लालनपालन, परिवार, अर्कोतिर व्यवसायको भार ।’ उनले जीवनको अर्को मोड सम्झिन् ।
श्रीमानको निधन हुनु भन्दा अघि घर छाडेर बाहिर पनि ननिस्कने सेढाईलाई एक्कासी घर परिवार, व्यवसाय, कर्मचारी सबैको व्यबस्था मिलाउन समस्या नै थियो । तर उनले आट गरेर सबै सम्हाल्दै व्यवसायलाई अगाडि बढाईन् श्रीमान व्यवसायी भएको भएर उनलाई व्यापारमा नै मोह बस्यो ।’
तंँ आंँट म पुरयाउंँछु भने झै उनी समस्याबाट कहिल्यै पछि हटिनन् । विचलित भइनन् । उनले आफ्नो व्यवसायलाई स्थापित गराएरै छाडिन् । त्यसैले पनि आज सम्म पनि एकल महिला भएर पनि व्यवसायमा उत्तिकै सक्रिय छिन् ।
श्रीमान गुमाउनुको पीडा नसेलाउंँदै उनको परिवारमा झमेला शुरु भइहाल्यो । पैसाको अगाडी महादेवको पनि त्रिनेत्र हुन्छ भनेझै उनकै घर परिवारले उनलाई जग्गा जमिन सम्पतिको दाबी गर्दै मुद्दा हाले तर उनी डगमगाइनन् । ‘म सधै सत्यको पक्षमा थिएंँ, आखिर मैले मुद्धा लडेरै जितें ।’उनी गर्व गर्छिन् । पारिवारिक तथा समाजले हौसला र सहयोग दिनुको सट्टा अनेक कुरा गरेर दुख दिएको त्यो घटनालाई सम्झदा उनी आज पनि दुखी हुन्छिन् ।
व्यवसायमा इमान्दारिता, लगनशीलता लाई शिरोपर राख्ने उनी अहिले सेढाई होल्डिंगकी डाईरेक्टर हुन भने उनको चितवनमै दुई वटा पेट्रोल पम्प पनि सञ्चालनमा छ्न् । चितवन पेट्रोलियम डिलक्स एसोसिएसनको उपाध्यक्षको पदमा रही विभिन्न कामहरु गर्दै आईरहेकी छन् त्यती मात्रै होइन उनका छोरा निर्देश सेढाईले पनि सानै उमेर देखि आफूलाई स्थापित गर्न सफल भएका छन् ।
हाल छोराले अटो मोबाईल व्यापारी बनेका छन् । सफल आमाका छोरा निर्देश पनि अहिले छुट्टै पहिचान बनाउन सफल भएका छन् । अहिले दुवै बिच आमा छोराको सम्बन्ध छदै छ एक राम्रो विजनेश पार्टनरका रुपमा पछि स्थापित भैसकेका छन् ।
‘मैले अहिले विगतका दुःख पीडा बेदना विर्सन सकेकी छु, एक किसिमले सफल पनि भएकी छु विगत र बर्तमानको तुलनामा पछी फर्केर हेर्दा धेरै परिवर्तन र धेरै उपलब्धी हासिल गरेकोमा उनी निकै खुशी छन् । केही बर्ष अघिमात्र आफ्नी छोरीलाई डाक्टर पढाएर बिहे समेत गरिदिएकी छिन् । हाल छोरीको परिवार अमेरिकामा बस्दै आएका छन् भने आमा छोरा भएर यहांँ व्यवसाय चलाउँदै आएका छन् ।आमाको सघर्ष र लगाब देखेर छोरा छोरी पनि निकै गर्भ गर्छन् ।
व्यवसाय सम्हाल्ने क्षमता मात्र छैन शर्मिलामा सामाजिक क्रियाकलापमा पनि उत्तिकै सक्रिय छिन् । उनी विभिन्न सामाजिक संस्थामा रहेर गरीब दुःखीको पनि सेवा गर्दै आइरहेकी छिन् ।
उमेरले ५० बर्षपनि नटेकेकी उनमा व्यवसाय र समाजसेवा गर्न उत्तिकै उर्जावान देखिन्छन । अबका केहीबर्ष व्यवसायमै सक्रिय रहने बताउने शर्मिला जीवनको बाँकी समय समाजसेवामा बिताउने प्रण गर्छिन् ।
जिन्दगीमा आट, भरोसा, जिम्मेवारी लिएर अघाडी बढ्यौ भने जित अवस्य हासिल गर्न सकिन्छ । सबैभन्दा ठुलो इच्छा चाहना हुनुपर्छ त्यो शर्मिला सेढाईको जीवनबाट हामीले देख्न सक्छौ आज जसरी शर्मिला सेढाई समाजमा एक सफल उदाहरण व्यक्तित्व भएकी छन् । अहिलेपनि कतिपय शिक्षित महिला चुलो चौकामै सिमित रहेको बेला र लाखौ युवा विदेशमा श्रम गर्न जानुपर्ने बाध्यताबाट छुटकारा पाउन पनि त्यस्ता जमातले शर्मिलाको संर्घषबाट पाठ सिक्ने बेला आएको छ ।
एजेन्सी
Comments