अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुँदै

अप्पर लोहोरे खोला हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा विक्री गरेको आईपीओ साउन २९ गते सोमवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले सोमवार साझ ५ बजे बत्तिसपुलतली स्थित काजीको किचनमा आईपीओ बाँडफाँटको कार्यक्रम तय गरेको हो ।

कम्पनीले सर्वसाधारणमा साउन १८ गतेदेखि २२ गतेसम्म आईपीओ विक्री गरेको थियो । साउन २६ गते आईपीओको प्रि–अलोटमेन्ट सम्पन्न गरिसकेको जानकारी समेत विक्री प्रबन्धकले दिएको छ । कम्पनीले यस अघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ बाँडफाँट गरिसकेको छ । 

जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको ४९ प्रतिशतले हुन आउने २४ लाख ९८ हजार ४० कित्ता आईपीओ विक्री गर्न अनुमति पाएका कम्पनीले कुल कित्तामध्ये १ लाख ९८ हजार ८२४ कित्तो वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा र २ लाख ६ हजार ७६० कित्ता आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरेको हो । स्थानीयका लागि ५ लाख ९ हजार ८०४ कित्ता आईपीओ छुट्याईएकोमा सम्पूर्ण कित्ता भने वितरण हुन सकेन । 

स्थानीयमा वितरण हुन नसकेको समेत थप गरी सर्वसाधारणमा १९ लाख ५३ हजार २७९ कित्ता आईपीओ सार्वजनिक निष्कासनमार्फत विक्री गरिएको हो । हालको बाँडफाँट व्यवस्था अनुसार भाग्यमानी १ लाख ९५ हजार ३२७ जना आवेदकले कम्पनीको आईपीओ प्राप्त गर्नेछन् । कम्पनीले यी आवेदकरूमा १० कित्ताका दरले आईपीओ बाँडफाँट गरी बाँकी ९ कित्ता शेयर थप ९ जनालाई एक कित्ताका दरले बाँडफाँट गर्नेछ । यसरी हेर्दा कम्पनीको आईपीओ बढीमा ११ कित्तासम्म बाँडफाँट हुनेछ ।

अधिकृत पूँजी ६० करोड रूपैयाँ रहेको कम्पनीको जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रूपैयाँ छ । सर्वसाधारणतर्फबो सम्पूर्ण कित्ता आईपीओ बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ५० करोड ९८ लाख ४ हजार रूपैयाँ कायम हुनेछ । आईपीओबाट संकलित पूँजी कम्पनीले बैंकको ऋण तिर्न र आयोजना निर्माणका लागि खर्चिने जानकारी दिएको छ ।

Comments

Back to top