युनिलिभर नेपाल लिमिटेडको सेयर भाउ अल टाइम हाईको रेकर्ड बनाउँदै
युनिलिभर नेपाल लिमिटेडको सेयर भाउ अल टाइम हाईको रेकर्ड बनाउँदै अघि बढिरहेको छ । बुधबार यसले ३९ हजार ९३० रुपैयाँको इन्ट्रा डे हाई बनायो । यो हालसम्मको उच्च विन्दु पनि हो । क्लोजिङ मूल्य भने २.५६ प्रतिशतले बढेर ३७ हजार २३० रुपैयाँ कायम भएको छ ।
नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये यसको सेयर मूल्य सबैभन्दा धेरै हो । विगतलाई हेर्ने हो भने यस कम्पनीको सेयर कारोबार अरु कम्पनीहरु जस्तै दैनिक हुने गरेको पनि थिएन तर पछिल्ला दिनहरुमा युनिलिभरको सेयर दैनिकजसो ट्रेड हुने गरेको छ । लगानीकर्ताको आकर्षण यसमा ह्वातै बढेको देखिन्छ ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासको रिपोर्ट अनुसार युनिलिभर नेपालले ३७ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यसको प्रतिसेयर आम्दानी २ हजार १५१ रुपैयाँ र नेटवर्थ ४ हजार १२६ रुपैयाँ रहेको छ । यही ७ महिनामा यसको मूल्य १०० प्रतिशतभन्दा धेरैले बढिसकेको छ । यता, ब्रोकर नम्बर १३ ले भने ३ हजार ८९६ कित्ता सेयर बिक्री गरेको छ । त्यस्तै, ४४ र ३४ नं ब्रोकरले क्रमशः २ हजार ३२३ र १ हजार ३७४ कित्ता बिक्री गरेका छन् । समग्रमा भन्नुपर्दा युनिलिभर नेपाल आधारभूत रुपमा निकै सबल कम्पनी हो, जसलाई बजार भाउले पुष्टि गर्दै गएको छ ।
Comments