बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने आयात कर्जा साढे १६ अर्बले घट्यो
विलासी तथा अति आवश्यक नपर्ने वस्तुहरुको आयातमा नियन्त्रण गरेसँगै बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने आयात कर्जा पनि घटेको छ । चालु आर्थिक वर्षको चैत महिनामा मात्र आयात कर्जा साढे १६ अर्ब रुपैयाँले घटेको हो ।
उच्च आयातका कारण विदेशी विनिमय सञ्चितिमा आएको गिरावट नियन्त्रणका लागि सरकारले केही वस्तुहरुको आयातमा पूर्ण रुपमा बन्देज गरेको थियो भने आयातका लागि ५० देखि शतप्रतिशतसम्म मार्जिन राख्नुपर्ने व्यवस्था गरेको छ ।
विदेशी विनिमय सञ्चितिमा आएको गिरावटमा नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले माघ २६ गते निर्देशन जारी गर्दै विभिन्न ४७ वस्तुहरुको आयातमा मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो । त्यसका साथै सुन आयातको कोटा पनि दैनिक २० केजीबाट घटाएर १० केजीमा सीमित गरेको थियो । यो व्यवस्थाले पनि आयातमा कमी नआएपछि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुलाई नै बोलाएर अनौपचारीक रुपमा आयातका लागि प्रतिपत्र नै जारी नगर्न निर्देशन दिएको थियो । त्यसपछि भने आयातमा केही नियन्त्रण आएको देखिन्छ ।
नेपाल राष्ट्र बैंकले आयातका लागि एलसी जारी नगर्न भनेपछि सरकारले पनि राजपत्र मार्फत नै चालु आर्थिक वर्षका लागि विलासी वस्तुहरुको आयातमा पूर्ण रुपमा प्रतिवन्ध लगाएको छ । यसले गर्दा पनि बैंकहरुबाट आयातका लागि जाने कर्जामा कमी आएको हो ।
चालु आर्थिक वर्षको चैतसम्ममा बैंक÷वित्तीय संस्थाले आयातका लागि भनेर ट्रष्ट रिसिप्ट तथा आयात कर्जा शीर्षकमा एक खर्ब ३ अर्ब कर्जा प्रवाह गरेका छन् । यो कर्जा रकम फागुन महिनाको तुलनामा १३ प्रतिशतले थोरै हो । चालु आवको फागुन महिनासम्ममा बैंकहरुले सो शीर्षकमा मात्र एक खर्ब १९ अर्ब ४८ करोड रुपैयाँ कर्जा लगानी गरेका थिए । त्यसैगरी आयातमा नियन्त्रण भएपछि निमार्ण क्षेत्रको कर्जा ८.६८ प्रतिशतले घटेको छ । त्यतिमात्र नभई यातायात तथा सञ्चार क्षेत्रमा बैंकहरुले गर्ने कर्जा कलगानी समेत २.१३ प्रतिशतले घटेको छ ।
सरकारले सबै प्रकारका तयारी मदिरादेखि निजी सवारी साधनहरु मोटरसाइकल, गाडी, हिरा, मोबाइल, टेलिभिजन, चुरोट तथा सूर्तीजन्य, तास, खेलौना र कुरकुरे, कुरमुरे, लेज र त्यस्तै उत्पादनहरुको आयातमा सरकारले प्रतिबन्ध लगाएको छ । व्यापार घाटा उच्च दरले बढेर विदेशी मुद्राको सञ्चिति निरन्तर घटेपछि यसअघि केन्द्रीय बैंकले ४७ वटा समूहभित्रका ३०० वस्तुको आयात बैंक मार्फत बन्द गराएको थियो ।
Comments