बैंकहरुमा तरलता अभाव कायमै: एकैदिनमा ९५ अर्ब सापटी !
निर्वाचनपछि बैंकहरुमा तरलता अभाव झनै बढेको पाइएको छ । पाँच दिनको सार्वजनिक विदापछि बैंकहरुले मंगलबार राष्ट्र बैंकसँग एकैदिन ९५ अर्ब रुपैयाँभन्दा बढी सापटी लिएका छन् ।
केन्द्रीय बैंकका अनुसार मंगलबार बैंकहरुले ९५ अर्ब २५ करोड ९० लाख रुपैयाँ बराबरको स्थायी तरलता सुविधा लिएका छन् । यो वैशाख २१ गतेपछिको सबैभन्दा ठूलो सापटी हो । वैशाख २१ गते बैंकहरुले ९८ अर्ब २२ करोड रुपैयाँको स्थायी तरलता सुविधा लिएका थिए । सो पश्चात बैंकहरुले यति ठूलो रकमको स्थायी तरलता सुविधा लिएका थिएनन् ।
अहिले बैंकहरुमा निक्षेप संकलन बढ्न नसक्दा बैंकहरुले केन्द्रीय बैंकसँग सापटी लिएर तरलता व्यवस्थापन गर्दै आएका छन् । उनीहरुले चालु आर्थिक वर्षमा ७० खर्ब ११ अर्ब २२ करोड रुपैयाँको स्थायी तरलता सुविधा लिइसकेका छन् । अहिले पनि २ खर्ब रुपैयाँ बराबरको केन्द्रीय बैंकलाई तिर्नुपर्ने सापटी रकम बैंकहरुसँग नै छ ।
यति मात्रै होइन मंगलबार बैंकहरुले ५५ करोड रुपैयाँको ओभरनाइट रिपो सुविधा पनि लिएका छन् । यो पनि केन्द्रीय बैंकले एक दिनको लागि बैंकहरुलाई उपलब्ध गराउने सापटी हो । केन्द्रीय बैंकको तथ्याँक अनुसार बैंकहरुको अन्तरबैंक सापटीको ब्याजदर पनि ७.०४ प्रतिशत पुगेको छ ।
Comments