एक वर्षमा डेढ लाखले लिए‘लोन अकाउन्ट’
एक वर्षमा ऋण लिने खाता (लोन अकाउन्ट)को संख्या डेढ लाखले थपिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो एक वर्ष २०७८ चैत महिनासम्म १ लाख ५३ हजार ३ सय ५६ लोन अकाउन्ट थपिएका छन् ।
यो गत वर्षको सोही अवधिको तुलनामा ९.११ प्रतिशतले धेरै हो । अहिलेसम्म वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्समा लोन अकाउन्टको संख्या १८ लाख ३६ हजार १ सय ९१ पुगेको छ । गत वर्षको चैत महिनामा यो संख्या १६ लाख ८२ हजार ८ सय ४५ थियो ।
कुल खातामध्ये चालु आर्थिक वर्षको चैत महिनासम्मको तथ्यांकअनुसार ऋण लिने अकाउन्ट जम्मा ४.२४ प्रतिशतमात्र रहेको छ।वाणिज्य बैंकहरुमा १४ लाख ९० हजार २ सय ४ लोन अकाउन्ट रहेका छन् ।
मुलुकमा हाल २७ वटा वाणिज्य बैक सञ्चालनमा रहेका छन् । त्यस्तै, विकास बैंकमा लोन अकाउन्ट खोल्नेको संख्या ३ लाख ५ हजार १ सय ४४ पुगेका छन् । भने फाइनान्समा यस्तो खाता खोल्नेको संख्या ४० हजार ८ सय ४३ पुगेका छन् । मुलकमा हाल १७ विकास बैंक र सी समूहमा पर्ने फाइनान्सहरुको सख्या पनि १७ नै रहेको छ ।
अहिलेसम्म बैंक तथा वित्तीय संख्या (क, ख र ग) मा खाता खोल्नेको संख्या ४ करोड ३२ लाख ८६ हजार ३ सय ७४ पुगेको छ । यो गत वर्ष चैत महिनाको भन्दा ६९ लाख २० हजार ३ सय ३३ ले बढी हो । एक वर्षमा ६९ लाख २० हजार बैंक खाता थपिँदा ऋण लिने खाताको संख्या १ लाख ५३ हजारले थपिएको राष्ट्र बैंले जनाएको छ ।
Comments