बैंकले रेमिट्यान्स सेटलमेन्टको कार्य मात्रै गर्नुपर्ने विप्रेषक संघको माग
नेपाल मुद्रा विप्रेषक संघले बैंकले रेमिट्यान्स सेटलमेन्टको मात्रै काम गर्नुपर्ने माग राखेको छ । आगामी आर्थिक वर्षको बजेटमा सरकारलाई सुझाव दिँदै संघले यस्तो माग राखेको हो । संघले भनेको छ, “रेमिट्यान्सको रिटेल काम जो रेमिट्यान्स कम्पनीहरूले गरिरहेका छन् त्यस्ता काममा बैंकले रूचि राख्दा समग्र रेमिट्यान्स क्षेत्रकै स्थायित्वमा असर पर्न सक्छ ।”
संघले रेमिट्यान्स प्राप्त हुने देशमा हुण्डी कारोबारीहरु संलग्न भएको भन्दै त्यस्ता देशबाट आउने रेमिट्यान्स आप्रवाह कमजोर भएको बताएको छ । साथै, संघले रेमिट्यान्स कम्पनीलाई सीमित क्षेत्राधिकार मात्रै रहेको भन्दै बैंकहरुसँग प्रतिष्पर्धा गर्न कठीन भएको बताएको छ ।
मोबाइल, वालेट तथा इन्टरनेट बैंकिङमार्फत् विदेशबाट सजिलै बैंक तथा वित्तीय संस्थाका खातामा पैसा भुक्तानी गर्न मिल्ने भएकाले हुण्डी जस्ता अवैध कारोबार बढ्ने सम्भावना रहने भन्दै संघले यस्तो सेवाको दुरूपयोग नहोस् भनेर समयमै सचेत हुनुपर्ने बताएको छ ।
“रेमिटेन्स कम्पनीहरूले विदेशबाट ल्याएको डलर बैंकलाई नै बेच्ने हो । बैंक तथा रेमिटेन्स कम्पनीबीच कार्यक्षेत्रको धरातल फरक छ । त्यसका अतिरिक्त केहि रेमिट्यान्स कम्पनीहरूले विनिमय दर जस्ता विषयमा राष्ट्र बैंकले तोकेको मापदण्डमा तादम्यता नहुने गरी काम गरिरहँदा रेमिट्यान्स बजार अस्वस्थ्य बन्दै गएको छ,” संघले जनाएको छ ।
संघले बैंकिङ तथा अन्य माध्यमबाट हुने भुक्तानीको लागत बढी पर्न गएको भन्दै यस्तो सेवा बिक्रीबाट प्राप्त हुने भुक्तानी बीटुबी पेमेन्ट निश्चित सीमासम्म मात्र गर्नेगरी रेमिट्यान्स कम्पनीहरूलाई अनुमति दिनुपर्ने बताएको छ ।
संघको सुझावमा राष्ट्र बैंकबाट इजाजतप्राप्त जति पनि रेमिट्यान्स कम्पनीहरू छन् उनीहरू सबैले कम्प्ल्यान्सको पूर्ण परिपालन गरेका छन् वा छैनन् आवधिक परीक्षण गर्ने व्यवस्था भएमा रेमिट्यान्स अझै व्यवस्थित र व्यवसायिक हुने उल्लेख गरिएको छ ।
Comments