९ महिनामा १ लाख ४५ हजार भन्दा बढीले लिए सहुलियतपूर्ण कर्जा
मुलुकमा रोजगारी नपाइएको भन्दै युवाहरु विदेशीने क्रम जारी छ । कृषियोग्य भूमिहरु बाँझो छन् । शिक्षित युवाहरु पनि बेरोजगार बस्नुपर्ने बाध्यता छ । मुलुकको यस अवस्थामा सुधार ल्याउनका लागि सरकारले कर्जा लिँदा लाग्ने व्याजको पाँच प्रतिशत आफैँले तिरिदिने गरी बैंक तथा वित्तीय संस्थामार्फत सहुलियत कर्जा वितरण गर्ने गरेको छ । सरकारले उद्यमशीलता बढाउनका लागि व्याज अनुदानमा बैंकहरुबाट विभिन्न शीर्षकमा कर्जा उपलब्ध गराउने गरेको छ । सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान सम्बन्धि कार्यविधि २०७५ अनुसार यस्तो कर्जा वितरण हुन्छ ।
चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा १ लाख ४५ हजार ६९३ ऋणीले सहुलियत कर्जा पाएका छन्। राष्ट्र बैंकका अनुसार १ लाख ४५ हजार ६९३ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई २ खर्ब १६ अर्ब ६ करोड कर्जा बक्यौता रहेको छ।
त्यस कर्जामा कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ५९ हजार ९३१ ऋणीलाई प्रवाह भएको १ खर्ब ३८ अर्ब ८४ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८२ हजार ९२६ महिला उद्यमीलाई प्रवाह भएको ७३ अर्ब ५२ करोड कर्जा रहेको छ ।
सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ८३६ ऋणीको ३ अर्ब ६९ करोड कर्जा बक्यौता रहेको छ राष्ट्र बैंकले जनाएको छ। “व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७” बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ चैत मसान्तसम्ममा १ अर्ब १३ करोड स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ।
यस बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७८ चैत मसान्तमा १ खर्ब १६ अर्ब ९० करोड लगानीमा रहेको छ। व्यवसया निरन्तरता कर्जा तथा ब्यवसाय निरन्तरता कर्जा सरकारले कोभिडको असर परेकाहरुलाई केन्द्रत गर्दै वितरण गर्दै आएको छ। यस कर्जाको लागि बैंक तथा वित्तिय संस्थाहरुले ऋण दिने र बैंकहरुलाई ब्याज माफर्तको अनुदान राष्ट्र बैंकले प्रदान गर्ने गर्छ।
पुनरकर्जा पनि तीन किसिमको हन्छ। जसमा साधारण, विशेष र घरेलु तथा साना कर्जा नामक रहेको छ। साधारण कर्जा लिनेको संख्या १३ हजार रहेका छन् जसले ८६ अर्ब ९३ करोड रुपैंया लिएका छन्। विशेष कर्जा लिनेको संख्या १ हजार ७ सय रहेको छ। जसले १२ अर्ब २९ करोड र घरेलु तथा साना कर्जा लिनेको संख्या ९ हजार ४ सय रहेको छ। जसले ८ अर्ब १० करोड रुपैयाँ लिएका छन्।
Comments