सल्यानबाट बाह्र करोडको कृषिजन्य वस्तु निकासा

चालू आर्थिक वर्षको आठ महिनामा सल्यान जिल्लाबाट १२ करोड रुपियाँभन्दा बढीको कृषिजन्य वस्तु निकासी भएको छ । कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रमेशकुमार बस्नेतले यस अवधिमा कपुरकोट कृषि उपज केन्द्रबाट १२ करोड सात लाख २६ हजार ५५ रुपियाँको कृषिजन्य वस्तु जिल्ला बाहिर गएको जानकारी दिए ।

गत वर्ष यहाँबाट ७३ करोड रुपियाँको कृषि उपज जिल्लाबाहिर निकासी भएको थियो । यहाँबाट निकासी हुने तरकारीमा ७५ प्रतिशत कपुरकोट गाउँपालिकामा उत्पादन हुने तरकारी रहेको छ ।

यस वर्षको आठ महिनाको अवधिमा यहाँबाट कुल २९ लाख ८२ हजार १११ किलो कृषिजन्य वस्तु निकासी भएको छ । बस्नेतका अनुसार सो केन्द्रबाट गोलभेँडा ११ लाख १० हजार ७३१ किलो, बन्दा आठ लाख हजार १२ हजार ७२७ किलो, काउली चार लाख ४२ हजार २५० किलो, सिमी एक लाख २६ हजार ४४२ किलो, भेँडे खुर्सानी एक लाख १३ हजार ६२६ किलो, काँक्रो एक लाख ६४ हजार ७२३ किलो, हरियो खुर्सानी एक लाख तीन हजार ८६१ किलो निकासी भएको छ । यसैगरी मूला, भान्टा, अकबरे खुर्सानी, तिते करेला, चुच्चे करेला, साग, राजमा सिमी, आलु, स्थानीय सिमी, फर्सी, खुर्सानी, इस्कुसलगायतका तरकारी निकासी भएको छ ।

कपुरकोट र आसपासको क्षेत्र मौसमी र बेमौसमी तरकारी उत्पादनका लागि प्रख्यात छ । सल्यानकै त्रिवेणी, छत्रेश्वरी तथा रोल्पा र दाङबाट समेत कपुरकोट सङ्कलन केन्द्रमा तरकारी सङ्कलन हुने भए पनि कपुरकोट गाउँपालिकाभित्रका किसानले उत्पादन गरेको मात्र तरकारीको तथ्याङ्क राखिने गरेको कपुरकोट बजार केन्द्रले जनाएको छ । सल्यान जिल्लामा पछिल्लो समय मौसमी तथा बेमौसमी तरकारी खेतीतर्फ किसानको आकर्षण बढिरहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ ।

Comments

Back to top