विदेशी मुद्राको सञ्चिति तीन करोड डलरले बढ्यो, रेमिट्यान्समा भने गिरावट !
पछिल्लो समय विदेशी मुद्रा संचितिको अवस्थामा केहि सुधार भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको नौ महिनाको तथ्यांकअनुसार विदेशी मुद्रा संचिति गत चैतको एक महिनाको अवधिमा ३ करोड डलरले थपिएको देखाएको छ ।
यससँगै फागुन मसान्तमा ९ अर्ब ५८ करोड डलर रहेको विदेशी मुद्राको संचिति चैत मसान्तसम्ममा ९ अर्ब ६१ करोड डलर पुगेको हो । यता चालु खाता घाटाको चाप भने चैतमा अझ थपिएको छ । फागुन मसान्तमा ४६२ अर्ब ९३ करोडले घाटामा रहेको चालु खाता चैत मसान्तसम्मको एक महिनाको अवधिमा करिब ५० अर्ब रुपैयाँले थपिएर ५१२.७१ करोडले घाटामा पुगेको छ ।
अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा एक अर्ब ८० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा चार अर्ब २८ करोडले घाटामा रहेको हो । फागुन मसान्तमा ७.१४ प्रतिशत रहेको मुद्रास्फीति चैत मसान्तमा ७.२८ प्रतिशत पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
नवौं महिनामा पनि रेमिटेन्स घटेको छ । चैतमा रेमिटेन्स भित्रिने दर नेपाली रुपैयामा ०.६ प्रतिशतले र अमेरिकी डलरमा २.२ प्रतिशतले घटेको छ । फागुनमा पनि यो नेपाली रुपैयाँमा १.७ प्रतिशत र डलरमा ३ प्रतिशतले घटेको थियो । यस अवधिमा आयात ३२ प्रतिशतले बढेको छ, जुन वृद्धि फागुनमा ३८.६ प्रतिशत थियो । निर्यात वृद्धि पनि फागुनको ८२.९ प्रतिशतले सुधारबाट ६९ को वृद्धिमा ओर्लिएको छ ।
Comments