अन्तर-बैंक कारोबार बढ्दै, ९ महिनामा २५ खर्ब ६८ अर्ब भन्दा बढीको कारोबार
वि.सं. २०६५ साल मंसिर ९ गते यस कम्पनिको स्थापना भएको नेपाल क्लियरिङ हाउस लिमिटेड नेपाल राष्ट्र बैंकको मातहतमा रहेको एक पब्लिक कम्पनि हो । यसमा नेपाल राष्ट्र बैँक लगायत कमर्सियल बैंक, विकास बैंक, फाइनान्स र स्मार्ट च्वाइस टेक्नोलोजीज (एससीटी)को समतामूलक सहभागीता रहेको छ । बैंक तथा वित्तिय सेवाको प्रभावकारीता र उत्पादनलाई सुधार गर्दै उपभोक्ताका लागि एक सहज वित्तिय समाधान प्रदान गर्नको लागि एक प्रविधिमुखी सेवा यस कम्पनिले प्रदान गर्ने गर्दछ । बैँकका विभिन्न पूर्वाधारहरुमा खर्च नगरी सिधै प्रविधिको माध्यमबाट बील भुक्तानी गर्न सक्ने सुविधा यस कम्पनिले प्रदान गर्दछ ।
यसैअन्तर्गत, पछिल्लो दिनहरुमा नेपाल क्लियरिङ हाउसले विभिन्न बैँक तथा वित्तिय संस्थाहरुसँग अन्तरबैंक विद्युतीय भुक्तानी प्रणालीसम्बन्धि सम्झौता गरिरहेको छ । बैंक वित्तीय संस्थाहरुलाई अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध गराउदै लाने क्रममा कम्पनीले NCHL-IPS प्रणालीका लागि ५८ बैंक तथा वित्तीय संस्थाहरुसंग प्रत्यक्ष सदस्यका रुपमा र ३ रेमिट कम्पनीसंग अप्रत्यक्ष सदस्यका रुपमा सम्झौता गरिसकेको छ । नेपाल क्लियरिङ्ग हाउसको अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध सदस्य संख्या ६२ पुगेको छ । कम्पनिको विद्युतीय भुक्तानी प्रणालीबाट ग्राहकले अनलाइनमार्फत या बैंकमा फर्म भरेर अर्को बैंकको खातामा रकम भुक्तानी दिन सक्नेछन् ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिना २५ खर्ब ६८ अर्ब ९१ करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको जनाएको छ । २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिको सो कारोबार भएको हो । उक्त अवधिमा वाणिज्य बैंकहरुको २२ खर्ब ९९ अर्ब २२ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को २ खर्ब ६९ अर्ब ६८ करोड रुपैयाँ अन्तर–बैंक कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको ८ खर्ब ७५ अर्ब ५० करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरुको १ खर्ब ५९ अर्ब ४२ करोड रुपैयाँ गरी कुल १० खर्ब ३४ अर्ब ९२ करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको थियो ।
Comments