सरकारको नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गरिने

सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा प्रस्तुत गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते संसद अधिवेशन आह्वान गरिसकेकी छन्। सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसदमा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय संसद सचिवालयले जनाएको छ ।

सवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकाले राष्ट्रपतिले संसद अधिवेशन जेठ ३ गतेलाई आह्वान गरेकी हुन्।सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ देखि ११ गतेसम्म हुने छ।

बजेट अधिवेशनको लागि संसद सचिवालयले सुरक्षा, स्वास्थ्य मापदण्ड लगायतका भौतिक तयारी पूरा गरेको छ। जेठ ३ गते पहिलो प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सिद्धान्त र प्राथमिकता सम्बन्धि प्रस्ताव पेस गर्ने कार्यक्रम छ।

जेठ ४ र ५ गते संसदमा प्रि–बजेटमा छलफल हुने छ। जेठ १२ वा १३ गते संसदमा आर्थिक सर्वेक्षण सम्बन्धी प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने र संवैधानिक प्रावधान अनुसार जेठ १५ गते बजेट भाषण गर्ने छन्।

Comments

Back to top