जेठमा पनि निक्षेपको ब्याजदर नबढ्ने,ब्याज बढाउने गभर्नरको अभिव्यक्ति निरर्थक !

वाणिज्य बैंकहरूले जेठमा पनि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । ब्याजदर बढाउँदा पनि थप निक्षेप नआउने निष्कर्षका आधारमा बैंकहरुले जेठका लागि ब्याजदर स्थिर राख्ने भएका हुन् ।

यसका लागि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले बुधबार निर्णय गरिसकेको छ । यही निर्णयका आधारमा सबै सदस्य बैंकहरुलाई जानकारी पठाइने संघले जनाएको छ ।

बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले ब्याजदर बढाउँदा निक्षेप बढ्ने नभई अस्थिरता मात्र ल्याउने हुँदा ब्याजदर स्थिर राख्ने निर्णय भएको बताए ।

उनले भने, “यसकारण जेठका लागि पनि वैशाखकै बराबर ब्याजदर प्रकाशित गर्ने सहमति भएको छ ।” गत फागुनमा निक्षेपको ब्याजदर बढाएका वाणिज्य बैंकहरुले चैत र वैशाखमा पनि स्थिर राखेका थिए ।

अब जेठ महिनाका लागि पनि वैशाखकै ब्याजदर कायम राख्ने भएका हुन् । जसअनुसार वाणिज्य बैंकहरुले हाल एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत तोकेका छन् ।

गत माघको तुलनामा फागुनमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर ०.९८ प्रतिशत बिन्दुले बढाएका थिए । फागुनमा वाणिज्य बैंकहरुले संस्थागत एक वर्षे मुद्दती निक्षेपको अधिकतम ब्याजदर १०.०३ प्रतिशत र साधारण बचतको ६.०३ प्रतिशत कायम गरेका थिए ।

सहमति अनुसार बैंकहरुले सोही ब्याजदर प्रकाशित गर्ने भएकाले जेठ महिनाका लागि पनि निक्षेपकर्ताले उल्लेखित ब्याजदर नै पाउने छन् । वाणिज्य बैंकहरुले ब्याजदर नबढाउने निर्णय गरिसके पनि विकास बैंक र फाइनान्स कम्पनीका छाता संगठनहरुले भने निर्णय गरेका छैनन् ।

यता केहि दिन अगाडी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सार्वजनिक कार्यक्रममै ब्याजदर बढ्ने बताएका थिए । त्यस अभिव्यक्तिले उनको चर्को आलोचना भएको थियो ।

Comments

Back to top