नगदेबाली अदुवाले बजार पाएन, बिक्री नहुँदा टुसा पलायो

अदुवा बिक्री नभएपछि तनहुँका कृषक चिन्तित बनेका छन् । यहाँ उत्पादित अदुवा मूख्य बजार भारत भएको र त्यहाँका व्यापारी खरिद गर्न नआउँदा बिक्री गर्न समस्या परेको कृषकहरुले बताएका छन् । बजार नपाएपछि बिक्री गर्नको लागि खनेर राखिएको अदुवा गोदाममै थन्किएको छ ।

लामो समय सम्म विक्री नभएपछि बारीमा लगाउने बेला भएकोले अदुवाले टुसा हाल्न थालेको भिमाद नगरपालिकाको भिमाद बजारस्थित साना कृषि सहकारी सस्थाका अध्यक्ष नारायण खनालले बताए । जिल्लाका भीमाद र शुक्लागण्डकी, देवघाट, ऋषिङ र बन्दीपुर गाउँपालिकामा व्यावसायिक अदुवाखेतीको लागि पकेट क्षेत्रको रुपमा मानिन्छन् । भारतको मात्रै भरपर्दा कृषकलाई बिक्री गर्न समस्या परेको छ ।

भारत निकासीमा बन्द र स्थानीय बजारमा माग नभएकोले बिक्री गर्न नसकेको खनालले जानकारी दिए। कृषकसँग सहकारीले खरीद गरेर राखेको २६ हजार किलोग्राम अदुवा बिक्री नभएर टुसा पलाएर बसेको उनले भने । सहकारीले कृषकबाट प्रतिकिलोग्राम ४० रुपियाँमा खरीद गरेको जनाएको छ ।

लामो समय सम्म विक्री नुहँदा गोदाम भाडा तिर्नुपर्ने बाध्यता रहेको छ । पहाडी क्षेत्रका कृषकका लागि अदुवा मुख्य नगदेबालीको रुपमा लिइन्छ । अदुवाको गत फागुन र चैत महिनामा लगाउने गरिन्छ भने नौ महिनामा तयार हुन्छ । अदुवा पुस र माघ महिनामा खन्ने गरिन्छ । पहाडी क्षेत्रको मुख्य बालीको रुपमा रहेको अदुवाखेतीको बजारीकरणको सहज र उपयुक्त वातावरण बनाउन कृषकहरुले माग समेत गरेका छन् ।

वर्षेनि ठुलो मात्रामा भारत निर्यात हुने अदुवा यस वर्ष निकासी हुन सकेको छैन । अदुवा खेतीतर्फ कृषकहरुको आकर्षण बढ्दो रहेता पनि पछिल्ला वर्ष अदुवाको बजारीकरण नहुँदा कृषकहरु चिन्तित बनेका छन् । भानु नगरपालिका–५ सेपाबगैंचाकी कृषक शारदा पोख्रेलले १३ रोपनी जमिन लगाएको अदुवा बिक्री नभएको बताए ।

तनहुँका छ सय हेक्टर क्षेत्रफलमा अदुवा खेति रहेको र करिव आठ हजार छ सय मेट्रिकटन अदुवा उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रको छ ।

Comments

Back to top