१२.५० % ब्याज दिने वैदेशिक रोजगार बचतपत्र जारी हुने

सरकारले वैदेशिक रोजगारीसँग जोडिएका नेपालीहरुका लागि उच्च ब्याज दिने गरी ऋणपत्र जारी गर्ने भएको छ । सरकारले वार्षिक साढे १२ प्रतिशत ब्याज दिने गरी ’वैदेशिक रोजगार बचतपत्र २०८४’ नामको ऋणपत्र जारी गर्न लागेको हो ।

यो ऋणपत्रमा तोकिएको ब्याज अहिले नेपाली वित्तीय बजारमा प्रचलित ब्याजदर (मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत) भन्दा बढी हो । वैदेशिक रोजगारीमा गएकाले भने बैंकमा निक्षेप राख्दा यसमा थप एक प्रतिशत गरी कुल १२.०३ प्रतिशतसम्म ब्याज पाउने व्यवस्था गरिएको छ ।

ऋणपत्र पाँच वर्षपछि परिपक्व हुने जनाइएको छ । अर्थात् लगानी गरेको रकम ऋणपत्र खरिदकर्ताले पाँच वर्षमा फिर्ता पाउनेछन् । यसबीच पाँच वर्षसम्ममा वार्षिक साढे १२ प्रतिशतको दरले जम्मा लगानी गरेको रकममा थप साढे ६२ प्रतिशत प्रतिफल प्राप्त गर्नेछन् । सरकारले यो बचतपत्रको बिक्री आगामी जेठ १८ गतेबाट खुलाउने भएको छ। यसका लागि आवेदन दिने अन्तिम मिति असार ६ सम्म रहनेछ ।

वैदेशिक रोजगारीमा रहेका र विदेशमा रोजगारी गरेर फर्किएका नेपाली नागारिक तथा विदेश बस्ने गैरआवासीय नेपालीले पनि यो ऋणपत्रमा लगानी गर्न पाउनेछन् ।

बिक्रीपछि धितोपत्र बजारमा समेत सूचीकृत हुने भएकाले पाँच वर्षभन्दा अगाडि नै पनि लगानीकर्ताले चाहे दोस्रो बजार (नेपाल स्टक एक्सचेन्ज) मार्फत यसलाई बिक्री गर्न सक्नेछन् ।

Comments

Back to top