तरलता समस्या समाधानतर्फ, बैंकहरुको निक्षेप बढ्दै
आर्थिक वर्ष सुरु भएको दुई-तीन महिनादेखि नै बैंकवित्तमा देखिएको तरलता अभावको समस्या समाधान हुने संकेत देखिएको छ । पछिल्लो एकसातामा बैंकहरुको निक्षेप बढ्न थालेको हो ।
वैशाखको अन्तिम साता लागेपछि वाणिज्य बैंकहरुमा निक्षेप बढ्न थालेको हो । यसअघि वैशाख १६ मा ४३ खर्ब ६८ अर्ब रहेको वाणिज्य बैंकहरुको निक्षेप यो २३ गतेसम्म आइपुग्दा ४३ खर्ब ७४ अर्ब पुगेको हो । एक साताको अवधिमै वाणिज्य बैंकहरुमा ६ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।
तर निक्षेप बढे पनि बैंकहरुको ऋण विस्तार भने यस अवधिमा त्यति उत्साहजनक देखिँदैन । यो अझ एक सातामा घटेको तथ्यांक छ । एक साताको अन्तरालमा कर्जा परिचालन ४ अर्ब रुपैयाँ घटेर वैशाख २३ गतेसम्म कुल कर्जा विस्तारको आकार ४१ खर्ब ९३ अर्ब रुपैयाँमा आइपुगेको छ । एक साताअघि (वैैशाख १६) सम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ९७ अर्ब कर्जा प्रवाह गरेको आँकडा थियो ।
पछिल्लो एक सातामा विदेशी मुद्राको निक्षेपमा भने कुनै वृद्धि देखिंदैन । तर, विदेशी मुद्रामा दिइएको कर्जा भने एक अर्बले घटेको छ । समग्रमा भने चालु आर्थिक वर्ष कुल निक्षेप १८८ अर्बले वृद्धि भएको छ । यो अवधिमा ऋण ४७६ अर्बले बढेको छ ।
यता वाणिज्य बैंकहरुले ६४ खर्ब ११ अर्ब ८ करोड ३३ लाख रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन् । बैंकहरुले साउनदेखि वैशाख १९ गतेसम्म उक्त रकम राष्ट्र बैंकबाट अल्पकालीन सापटी लिएका हुन् । बैंकहरुले ३ हजार ४०८ वटा कारोबारबाट उक्त रकम एसएलएफ सुविधा लिएको राष्ट्र बैंकले जनाएको छ । बैंकहरुले एक साता अवधिका लागि एसएलएफ सुविधा लिने गरेका छन् । बैंक तथा वित्तीय संस्थाले सरकारी ऋणपत्र धितोमा राखेर यस्तो सुुविधा लिन पाउँछन् ।
बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानीको बढीमा ९० प्रतिशतसम्म एसएलएफ सुविधा लिन सक्छन् । बैंकले ७ दिन अवधिका लागि ७ प्रतिशत ब्याजदरमा उक्त रकम लिएका हुन्छन् ।
राष्ट्र बैंकका अनुसार सोमबार मात्रै ३२ वटा कारोबारबाट ५७ अर्ब ८९ करोड रुपैयाँ बैंकहरुले लिएका छन् । राष्ट्र बैंकका अनुसार हालसम्मको सबैभन्दा बढी चैत २८ गते बैंक तथा वित्तीय संस्थाले ४९ वटा कारोबारबाट १ खर्ब ९९ करोड ४० लाख रुपैयाँ एसएलएफ सुविधा लिएका छन् ।
Comments