जीडीपीमा औद्योगिक क्षेत्रको योगदान बढ्न सकेन !
कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा औद्योगिक क्षेत्रको योगदान अपेक्षा गरिएअनुसार बढ्न सकेको छैन । पन्ध्रौँ योजनाले आव २०८०/८१ सम्ममा कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान १८.८ प्रतिशत पु-याउने लक्ष्य राखे पनि विगत लामो समयदेखि १३–१४ प्रतिशतबाट माथि जान सकेको छैन ।
पन्ध्रौँ योजनाको पहिलो वर्ष (आव २०७६/७७) र दोस्रो वर्ष (आव २०७७/७८) औद्योगिक क्षेत्रको योगदान १३.१ प्रतिशत मात्रै थियो । यो योजनाको तेस्रो वर्ष अर्थात् चालू आर्थिक वर्ष (२०७८/७९) यो १३.७ प्रतिशत पुग्ने प्रक्षेपण केन्द्रीय तथ्याङ्क विभागले गरेको छ ।
१० वर्षअघि अर्थात् २०६८/६९ मा कुल गार्हस्थ्य उत्पादनमा औद्योगिक क्षेत्रको योगदान १४.६ प्रतिशत रहेको थियो । यो नै हालसम्मको सबभन्दा उच्च हिस्सा हो ।केन्द्रीय तथ्याङ्क विभागका निर्देशक गणेशप्रसाद आचार्यले सेवा क्षेत्रको विस्तार हुँदै गए पनि औद्योगिक क्षेत्रको उत्पादन बढ्न नसक्दा जीडीपीमा यस क्षेत्रको योगदान बढ्न नसकेको बताए ।
बढेन वृद्धिदर
आव २०७३/७४ मा औद्योगिक क्षेत्रको वृद्धिदर १७.२५ प्रतिशत रहेको थियो । यो नै विगत एक दशकको सबभन्दा उच्च वृद्धिदर हो । विनाशकारी भूकम्पका कारण आव २०७२/७३ मा औद्योगिक क्षेत्रको वृद्धिदर ऋणात्मक भएपछिको यो उच्च वृद्धिदर हासिल भएको हो । कोरोना महामारीका कारण लामो समयसम्म उद्योग व्यवसाय बन्द हुँदा २०७६/७७ मा ४.११ ऋणात्मक भएको थियो । चालू आर्थिक वर्ष औद्योगिक क्षेत्रको वृद्धिदर १०.२९ प्रतिशत पुग्ने प्रक्षेपण केन्द्रीय तथ्याङ्क विभागको छ ।
निरन्तर रूपमा उत्पादनमूलक क्षेत्रको योगदान घट्दा यसले आयात वृद्धिसँगै समग्र अर्थतन्त्रमा प्रभाव पारेको अर्थविज्ञ डा. चन्द्रमणि अधिकारीले बताए । उनले भने, “सेवा क्षेत्रमा आकर्षण बढेको र औद्योगिक क्षेत्रमा लगानी घटेका कारण आयात उच्च दरमा वृद्धि भइरहेको छ ।” उनका अनुसार आयात बढेसँगै अर्थतन्त्रमा धेरै चुनौती थपिएकाले औद्योगिक क्षेत्रमा लगानी बढाउन सरकारले वातावरण सिर्जना गर्नुपर्छ । कृषि, वन, पर्यटन क्षेत्रमा लगानी बढाएर औद्योगिक क्षेत्रको वृद्धिदर बढाउनुपर्ने उनको भनाइ छ । औद्योगिक क्षेत्रको वृद्धिदर घट्नुुले अर्थतन्त्रको जग नै कमजोर बनाउने भएकाले यसलाई बढाउनु सरकारले ध्यान दिनुपर्ने उनले बताए।
प्रतिस्पर्धी क्षमता ह्रास
विभागका अनुसार १० वर्षअघि कुल गार्हस्थ्य उत्पादनको आकार साढे १५ खर्ब रुपियाँ रहेकामा आव २०७७/७८ मा साढे ४२ खर्ब भन्दा बढी पुगेको छ । चालू आर्थिक वर्षमा साढे ४८ खर्ब रुपियाँको कुल गार्हस्थ्य उत्पादन हुने प्रक्षेपण विभागले गरेको छ । चालू आर्थिक वर्ष औद्योगिक क्षेत्रको योगदान मात्र पाँच खर्ब ६२ अर्ब ६४ करोड रुपियाँ रहने अनुमान छ ।
पछिल्ला वर्ष उद्योगधन्दा स्थापना र विस्तार नहुँदा योगदान नबढेको विवरण तथ्याङ्क विभागको विश्लेषणबाट देखिन्छ तर सरकारी अधिकारी मुलुकमा लगानीको वातावरणमा सुधार भइरहेको दाबी गर्छन् । उद्योग, वाणिज्य तथा आपूूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले लगानीका लागि वातावरण सुधार आए पनि आयातित वस्तुको मूल्य सस्तो हुँदा स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न कठिन भएको बताए ।
“कोभिड–१९ का कारण लामो समय उद्योग व्यवसाय बन्द हुँदा औद्योगिक उत्पादन वृद्वि हुन सकेन । उद्योगमा नयाँ प्रविधि भित्र्याउन, लगानी बढाउन सरकारले सहयोग गर्छ,” प्रवक्ता रेग्मीले भने । उद्योग विभागका अनुसार आव २०७७/७८ को चैत महिनासम्म स्वदेशी लगानीमा ५५ उद्योग दर्ता भएकामा चालू आर्थिक वर्षको सो अवधिमा बढेर ८८ पुुगेको छ । यस्तै सोही अवधिमा गत वर्ष वैदेशिक लगानीमा १५ वटा उत्पादनमूलक उद्योगमा लगानी प्रतिबद्धता यो वर्ष बढेर २७ पुगेको छ ।
Comments