वैदेशिक रोजगारीमा ठगी गर्ने दस जनाविरुद्ध मुद्दा दायर
देशिक रोजगार विभागले ठगीको अभियोगमा विभिन्न व्यक्ति र कन्सल्टेन्सीविरुद्ध मुद्दा दायर गरेको छ । वैदेशिक रोजगारीका लागि माल्टा पठाउने भन्दै १२२ जनाबाट एक करोड ४६ लाख रुपियाँँभन्दा बढी ठगी गरेको आरोपमा एक कन्सल्टेन्सीविरुद्ध मुद्दा दायर गरेको हो ।
आकर्षक तलब सुविधाको प्रलोभन देखाई इन्टरनेसनल एक्स्पो एन्ड ट्राभल सर्भिसले वैदेशिक रोजगार ऐनविपरीत वैदेशिक रोजगारीमा पठाउने भन्दै १२२ जनाबाट रकम उठाएर ठगी गरेको आरोप लगाएको छ । विभागले ८२ लाख चार हजार रुपियाँ हर्जनासहित दुुई करोड ४६ लाख १२ हजार रुपियाँ माग दाबी गर्दै आठ जनाविरुद्ध वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा दायर गरेको हो । वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगारसम्बन्धी कार्य गर्न विभागसँग इजाजत लिएको हुनुपर्छ । मुद्दा दायर गरेको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए।
सूचना अधिकारी भुसालका अनुसार कन्सल्टेन्सीका सञ्चालक राधा सुवेदीसहितका व्यक्तिले रोजगारीका लागि माल्टा पठाउने भन्दै प्रतिव्यक्ति दुई लाख ३५ हजार रुपियाँसम्म रकम उठाएको देखिएको छ ।एक करोड ६४ लाख आठ हजार ठगी गरेको र त्यसमा ८२ लाख चार हजार हर्जनासहित दुई करोड ४६ लाख १२ हजार माग दाबीसहित आठ जनाविरुद्ध मुद्दा दायर गरेको विभागले जनाएको छ ।
यसैगरी विभागले वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै एक व्यक्तिबाट ४१ लाख ५० हजार ठगेको अभियोगमा दुई जना व्यक्तिविरुद्ध मुद्दा दायर गरेको छ । पोखराका कुमार गुरुङलाई क्यानडा पठाइदिने भन्दै कास्कीका सदीक्षा गुरुङ र उनकी आमा ६२ वर्षीया खिनशोभा गुरुङले ४१ लाख ४२ हजार पाँच सय रुपियाँ लिएर ठगी गरेको अभियोग गुरुङ आमाछोरीलाई लगाइएको छ । विभागले उनीहरूविरुद्ध वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा दायर गरेको हो ।
Comments