नेपालमा उद्यमशीलताको वर्तमान अवस्था

नयाँ व्यवसाय सुरु गर्न जोखिम लिने व्यक्तिलाई उद्यमी भनिन्छ। एक उद्यमीले आफ्नो विचारलाई साकार पार्न एउटा फर्म सिर्जना गर्दछ, जसलाई उद्यमशीलता भनिन्छ। उद्यमशीलताबाट नाफाको लागि वस्तु वा सेवाहरू उत्पादन गर्न पुँजी र श्रमलाई एकत्रित गरिन्छ। विभिन्न अनुसन्धानले ९० प्रतिशत रोजगारी उद्यमीले सृजना गरेको देखाएको छ । सामान्यतया: कम विकसित देशहरूको लागि उद्यमशीलता स्तरोन्नतिको एकमात्र माध्यम हो किनकि त्यहाँ रोजगारीका अवसरहरू कम हुन्छन् । उद्यमशीलताले रोजगारी मात्र होइन देशको आर्थिक समृद्धिमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ। उद्यमशीलता मार्फत उत्पादनका कारकहरूलाई सामेल गरिन्छ।

वर्ल्डोमिटरका अनुसार नेपाल २४.६ वर्षको औसत उमेर भएको एक अपेक्षाकृत युवा देश हो। विश्व बैंकको ‘व्यवसाय सुरु गर्ने’ सूचांक जसले विश्वभरका साना मध्यम उद्यमहरू ट्र्याक गर्दछ, त्यसमा  १९० अर्थतन्त्रहरूमध्ये नेपाल १३५औँ स्थानमा छ। अर्को शब्दमा भन्नुपर्दा नेपाल व्यवसायमैत्री देश होइन। 

तर अझै पनि पछिल्ला केही वर्षहरूमा युवा उद्यमीहरूले नवीन व्यापार विचारहरू लिएर आउँदैछन्। हालैका दिनहरूमा देशमा उत्पत्ति भएका सयौं स्टार्टअपहरू मध्ये केहीले विश्वव्यापी मान्यता पनि पाएका छन्। नेपालमा केही ठूला उद्योगको वर्चस्व देखिए तापनि साना तथा मध्यम उद्यमहरू देखा परेका छन् जसले रोजगारी सृजना गर्दै अर्थतन्त्रमा टेवा पुर्याउने र उपभोक्तालाई सुपथ मुल्यमा विभिन्न उत्पादन उपलब्ध गराउने गरेका छन् । सरकारको सानो सहयोगले पनि अस्थिर नेपाली अर्थतन्त्रमा उद्यमशीलता फस्टाउँदै गइरहेको थियो । तर त्यसपछि कोविड-१९ को प्रकोप सुरु भयो र मार्च २०२० देखि लामो समयसम्म तालाबन्दी पनि भयो जसले उद्यमीहरूको आशा र सपनालाई नष्ट गर्यो।

उद्यमशीलता एक महत्त्वपूर्ण तत्व हो जुन समग्र रूपमा विकासको लागि गणना गरिन्छ। आर्थिक उन्नतिका लागि उद्यमशीलतालाई प्रवर्द्धन गर्न जरुरी छ । शैक्षिक संस्थानहरूले उदीयमान र महत्वाकांक्षी उद्यमीहरूलाई उत्प्रेरित गर्नुपर्छ। कानून सहयोगी हुनुपर्छ र राज्यले अनुकूल वातावरण सिर्जना पनि गर्नुपर्छ। नेपाल भविष्यमा न्यून-मध्यम आय भएको देशको स्तरमा पुग्ने र आफ्नो युवा भिजन पूरा गर्ने लक्ष्यका साथ अगाडि बढ्दै गर्दा उद्यमशीलता एउटा कोसेढुंगा रूपमा उभिएको छ जहाँबाट नेपालले आफ्ना युवाहरूको भविष्य परिवर्तन गर्नसक्छ। यो सम्पूर्ण कुरालाई सही गति दिन सरकारले युवाहरूलाई सीपमूलक तालिमको माध्यमबाट कत्तिको सक्षम बनाउँछ, लगानीमा पहुँच कति सजिलो बनाउँछ, नागरिक र निजी क्षेत्रले एकअर्कासँगको सहकार्य तथा ज्ञान आदानप्रदानलाई कत्तिको गहिरो रूपमा प्रवर्द्धन गर्छ भन्ने कुरामा भर पर्छ।

Comments

Back to top