११ % ब्याजदर भएको नागरिक बचतपत्र खुला, आवेदन दिन एक दिन मात्र समय बाँकी

नेपाल राष्ट्र बैंकले २ अर्ब रुपैयाँ बराबरको नागरिक बचतपत्रका लागि आवेदन खुलाएको छ । राष्ट्र बैंकले आइतबार खुला गरेको बचतपत्रमा २२ गतेसम्म आवेदन दिन सकिनेछ । चार वर्ष परिपक्वको अवधि रहेको उक्त बचतपत्रमा ११ प्रतिशत ब्याजदर पाइने छ । यो ब्याजदर राष्ट्र बैंकले यसअघि बिक्री गरेको नागरिक बचतपत्र २०८३ (क) भन्दा एक प्रतिशतले बढी हो ।

हाल वाणिज्य बैंकहरुले निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर दिइरहेका छन् । अघिल्लो पटकको बचतपत्रको ब्याजदर बैंकहरुको भन्दा कम रहेकाले नागरिकको धेरै आकर्षण हुन सकेको थिएन । सोही पक्षलाई ध्यान दिएर अहिले ब्याजदर बढाइएको राष्ट्र बैंकले जनाएको छ । बचतपत्रको परिपक्वको अवधि २०८४ वैशाख १५ गतेसम्म रहेको छ ।

यो वर्ष देखि विदेशमा रहेका नेपालीले आफू रहेकै स्थानबाट पनि नागरिक बचतपत्रमा लगानी गर्न सक्नेछन् । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्रको आवेदन अनलाइन प्रणालीमार्फत् पनि गर्न सकिने व्यवस्था गरेपछि विदेशमा रहेका नेपालीले पनि उक्त सुविधा पाएका हुन् ।

नयाँ व्यवस्था अनुसार अब स्वदेश र विदेश जहाँ रहेका नेपालीले पनि अनलाइनमार्फत नागरिक बचतपत्र खरिद गर्न बाटो खुलेको हो । यसअघि आवश्यक कागजातसहित भौतिक रुपमा सम्बन्धित व्यक्ति बैंकमा उपस्थित हुनुपर्ने व्यवस्था रहेकाले विदेशमा बस्ने नेपालीले नागरिक बचतपत्र किन्नबाट वञ्चित रहँदै आएका थिए ।

Comments

Back to top