सीडी रेसियो घट्दै, अन्तर बैंक दर एसएलएफ भन्दा उच्च
पछिल्लो केहि दिनदेखि अन्तर बैंक ब्याज दर स्थायी तरलता सुविधाभन्दा माथि पुगेको छ । यस्तै कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) क्रमशः घट्न थालेको छ । यस आर्थिक वर्षभरी नै तरलता अभाव सिर्जना भयो । तर केहि दिनयता तरलतामा अचम्मको प्रवृत्ति देखिएको नेपाल राष्ट्र बैंकले बताएको हो ।
राष्ट्र बैंकका अनुसार स्थायी तरलता सुविधा (एसएलएफ)को ब्याज दर ७ प्रतिशत छ । बैंकहरुले कतै पैसा नपाएको अवस्थामा आफ्नो ऋणपत्र धितो राखेर राष्ट्र बैंकबाट जुनसुकै बेला यो सुविधा लिन सक्छन् । त्यसैले अन्तर बैंकमा ब्याज दर स्वभावतः ७ प्रतिशतभन्दा तल हुनुपर्ने हो । तर अन्तर बैंक ब्याज दर ६.९९ बाट बढेर ७.०४ प्रतिशत पुगेको छ । अन्तर बैंकमा पैसा पाउन छाडेको यसले देखाउनुको अर्थ बजारमा तरलता झन् चर्किनु हो ।
तर पनि यता सीडी रेसियो भने घटेको छ । सीडी रेसियो घट्नका लागि कि निक्षेप बढ्नुपर्छ नभए ऋण घट्नु पर्ने हुन्छ । राष्ट्र बैंकका अनुसार, ९०.९२ प्रतिशतको सीडी रेसियो ९०.७७ प्रतिशतमा आएको छ ।
अहिले बैंकहरुको ऋण यथावत छ अर्थात् ४१ खर्ब ९१ अर्ब रुपैयाँ ऋण छ । निक्षेप भने यो अवधिमा ४३ खर्ब ५२ अर्बबाट बढेर ४३ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ ।
Comments