सीप सिकेर स्वरोजगार बन्दै कञ्चनपुरका महिला

कृष्णपुर नगरपालिका–६ का कमला डगौरा थारु समुदायका महिलाले लगाउने परम्परागत पहिरन बनाउने सीप बूढापाकाबाट सिकेर नयाँ पुस्तालााई सिकाउनमा व्यस्त छिन् ।

सानै हुँदा घरका बज्यै, आमाबाट महिलाले लगाउने लेहङ्गा, चोली बनाउन उनले सिकेकी हुन् । पुस्तौँदेखि पुस्तान्तरण हुँदै आएको सीपलाई उनले आफूमा मात्रै सीमित राखेकी छैनिन् । उनले गाउँका युवतीलाई लेहङ्गा, चोलीलगायत बनाउन सिकाउनका लागि मद्दतसमेत पुर्याउँदै आएकी छिन् । युवतीलाई सीप सिकाउने कार्यमा महाकाली सामुदायिक वनले सहयोगसमेत गरेको छ ।

एक महिने निःशुल्क तालिम आयोजना गरी २० युवतीलाई लेहङ्गा, चोली बनाउने तालिम दिइएको उनले बताईन् । “यस कार्यका लागि सामुदायिक वनले सहयोग गरेको छ”, उनले भनिन्, “तालिम लिएका अधिकांशले युवतीले सीपको सदुपयोग गर्दै व्यावसायिक रुपमा कार्य अगाडि बढाएका छन् ।”

उनका अनुसार पहिला आजभोलि जस्तो कपडा सिउने मेसिनको प्रचलन थिएनन् । त्यसैले सबै कपडा हातैले सियो धागोको मद्दले सिउने गरिन्थ्यो । एकै जोडी लेहङ्गा चोली बनाउन १० देखि १५ दिन लाग्ने गर्दथ्यो । त्यो कार्य फुर्सदको समय मात्रै हुने गर्दथ्यो । आजभोलि कपडा सिउनका लागि मेसिनको प्रयोग गरिन्छ । कपडा सिउनका लागि केही घण्टा मात्रै लाग्ने गरेको छ । लेहङ्गा चोलीमा बुट्टा भर्ने, सितारा राख्ने, लेस अर्सा राख्ने कार्यसँगै ड्राफ्ट तयार गर्ने कार्य सहजरुपमा हुने गरेको छ ।

“बुट्टा भर्ने र नयाँ डिजायन तयार गर्ने कार्यका लागि युटयुवको सहायतासमेत लिने गरेका छौँ”, उनले भनिन्, “आँखा सिपालु भए पछि सबै सिपालु हुन्छन् । देखेको कुरालाई दिमागमा राखेर अरुभन्दा नयाँ कार्य गरे । त्यसबाट बढी आम्दानी लिन सकिन्छ । परम्परागत पहिरनलाई जोगाउन सकिन्छनै । आम्दानी बढने भएकाले बेरोजगार भएर बस्नुपर्दैन ।” लेहङ्गा चोली तयार गरी बेचेर उनले मासिकरुपमा रु ४० हजार बढी आम्दानी गर्छिन् । उनले तयार गरेका लेहङ्गा चोली कञ्चनपुर, कैलालीदेखि बाँके बर्दियासम्म बिक्री हुने गरेका छन् ।

एकजोर लेहङ्गा, चोली बनाउन दुईदेखि तीन दिनसम्म लाग्ने गरेको छ । एक जोडी तयार गर्नका लागि रु तीन हजार जति खर्च लाग्ने गरेको छ । जसबाट रु दुई हजार जति नाफा हुने गरेको अनिता देवी डगौरा बताउँछिन् । “लेहङ्गा चोली बनाउन आवश्यक कपडा, सितारालगायत भारतबाट मगाउनुपर्ने हुन्छ”, उनले भनिन्, “त्यसैले एक जोर बनाउनै धेरै खर्च आउँछ ।”

Comments

Back to top