के तपाईंको ल्यापटप छिट्टै तात्छ ? अपनाउनुहोस् यी तरिका !
प्रायजसो कम्प्युटर तथा ल्यापटप जस्ता ग्याजेटहरु प्रयोग गर्दा छिट्टो तात्ने गर्छन् । गर्मीको समयमा यो समस्या झन् बढी हुने गर्दछ। यदि तपाईं पनि ल्यापटप प्रयोग गर्नुहुन्छ र तपाईंको ल्यापटपमा पनि बढि तात्ने समस्या छ भने यस्तो समस्या समाधानका लागि आफैंले केही उपाय अपनाउन सक्नुहुन्छ । ठूलै प्राविधिक समस्या छैन भने यस्ता उपाय पनि ल्यापटपको तापक्रम कम गर्न उपयोगी हुन्छन् । ती उपायहरु यस प्रकार छन्:
१. ल्यापटपभित्र हावा आवतजावत अर्थात् भेन्टिलेसनका लागि ल्यापटपमा सीपीयू पंखा राखिएको हुन्छ । ल्यापटप पुरानो हुँदै जाँदा ल्यापटपभित्र धुलो तथा फोहोर जम्मा हुने र त्यसले पंखाले बाहिर फ्याँक्ने तातो हावासमेत रोक्ने गर्दछ र भेन्टिलेसन राम्रोसँग हुन पाउँदैन । यसका कारण केही बेर चलाउँदैमा ल्यापटप तात्न थाल्दछ । त्यसैले तपाईंले ल्यापटपभित्र जमेको धुलो तथा फोहोर सफा गर्नुपर्दछ । कुनै ल्यापटप मर्मत पसलमा लगेर वा आफुलाई ल्यापटपको हार्डवेयरको बारेमा जानकारी वा सीप छ भने आफैंले पनि ल्यापटप खोलेर नरम ब्रसले सीपीयू तथा कुलिङ सिस्टममा जमेको धुलो सफा गर्न सकिन्छ ।
२. यदि तपाईंले ल्यापटप चार्ज गर्न कुनै बाहिरी चार्जर प्रयोग गर्नुहुन्छ भने पनि करेन्ट प्रवाहमा गडबडी हुँदा ल्यापटप तात्ने सम्भावना हुन्छ । यसले ल्यापटपमा प्राविधिक समस्या आउने जोखिम पनि हुन्छ । त्यसैले सधै आफ्नै ओरिजिनल चार्जरबाट मात्रै ल्यापटप चार्ज गर्नुहोस् ।
३. कतिपयको बानी लामो समयसम्म चार्जमा राखेर छाड्ने वा लामो समयसम्म चार्जमा राखेर ल्यापटप चलाइरहने हुन्छ । यसो गर्दा ल्यापटपमा ओभर चार्जिङ भएर तात्ने सम्भावना हुन्छ । त्यसैले ल्यापटप पूरा चार्ज भएसँगै चार्जरलाई बाहिर निकाल्नुपर्दछ । चार्ज गरिरहेको बेला ल्यापटप चलाउनुभन्दा चार्ज गरिसकेपछि चार्जर निकालेर ल्यापटप चलाउँदा तात्ने समस्या कम हुन्छ ।
४. ल्यापटप तात्नुको अर्को कारण पृष्ठभूमिमा चलिरहेका एप्लिकेसनहरु हुन् । त्यसैले तपाईंले आफ्नो ल्यापटपबाट अनावश्यक एपहरू तुरुन्तै डिलिट गरिदिनु पर्दछ । यसले ल्यापटपलाई बढी तातो हुने समस्याबाट जोगाउँछ ।
स्रोत:एजेन्सी
Comments