गाउँघरको अर्गानिक स्वाद पस्कँदै ‘द लोकल्स’ ब्राण्ड
“दालै खाने जुम्ली सिमी त झन गजब स्वादिलो छ । स्वाद पाएका सबैका लागि प्रिय बनिरहेको जुम्ली सिमी सहरी भान्सासम्म रमाएको छ । त्यहाँको खाएकालाई अन्य ठाउँका खाँदा स्वाद नै आउँदैन ।” यो अनुभव कर्णालीको मास र सिमीको दाल नियमित उपभोग गर्ने काठमाडौँ सतुङलका दिनेश श्रेष्ठको हो । काठमाडौँमा खाद्यवस्तुको थोक व्यापार गर्दै आएका श्रेष्ठ आफ्नो पसलमार्फत आम उपभोक्ताको माग अनुसारका तराई तथा भारतीय बजारबाट आएका सस्ता सामान बिक्री गर्छन् तर आफूले भने मासको दाल र सिमीका गेडा, कोदो र फापरको पिठो जुम्ला कर्णालीकै खान्छन् ।
देख्दा त्यति आकर्षक नभए पनि खाँदा कर्णालीका खाद्यवस्तुको जस्तो स्वाद अन्य ठाउँको नभएको उनको अनुभव छ । श्रेष्ठले खाने सामान अचेल उपत्यकाकै बजारमा सहजै पाइन्छ । एक पटक कर्णालीको खाद्यवस्तुको स्वाद चाखेका उपभोक्ताले महँगो मूल्य तिर्न कत्ति पनि अप्ठ्यारो नमान्ने गरेको अनुभव काठमाडौँमा कर्णालीका सामान बिक्री गर्ने विवेक पण्डितको छ । पछिल्लो पटक त कर्णालीको ब्राण्ड दिएर चोक चोकमा बिक्री हुने नक्कली सामानको बिगबिगीले गर्दा आफूजस्ता सक्कली सामान बिक्री गर्नेका लागि ठूलो चुनौति भएको बताए । अहिले त अधिकांश ग्राहकले कर्णालीकै हो भनेर प्रमाणित गर्ने प्रमाणसमेत खोज्न थालेकाले पनि आफूहरूलाई काम गर्न अझै गाह्रो भएको भोगाइ पण्डितले सुनाए ।
स्याउदेखि मार्सी चामल, कोदोको पिठो, आलु, कागुनो, मह हुँदै ओखर र सिमीसम्म सहर चर्चामा आइपुगेका कर्णालीका उत्पादन ठूला माटदेखि अनलाइनमा किनमेल गर्न पाइन्छन् । त्यसैले त वानेश्वरका सुहृद चापागाईजस्ता धेरैको व्यापार कर्णालीकै ब्राण्डमा मौलाएका छन् । उनले कर्णालीका किसानसँग सिधा सम्पर्क गरेर त्यहाँ उत्पादित खाद्यवस्तु उपत्यकामा भित्राउँछन् । विगत चार वर्षदेखि चापागाईले द लोकल्स अनलाइनमार्फत उपत्यकावासी उपभोक्तालाई कर्णालीका खाद्यवस्तुुसँग जोड्दै आएका छन् । उनको अधिकांश समय उपत्यकावासी उपभोक्तासमक्ष कर्णालीका खाद्यवस्तुको अनलाइनमा अडर लिएर घर–घरमा पुर्याउँदैमा बित्छ । उपत्यकाका तीन सय बढी उपभोक्ताले नियमितरूपमा उनीमार्फत कर्णालीको खाद्यवस्तु किनेर उपभोग गर्दै आएका छन् ।
चापागाईले जुम्लाको सिमी, मार्सी चामल, स्याउ, जिम्बू, हुम्ला र डोल्पाको चिनो, कागुनो, कोदो र फापरको पिठो किसान वा त्यहाँका स्थानीय सहकारीमार्फत काठमाडौँ ल्याएर गरेर बिक्री गर्दै आएका छन्। जुम्ला, डोल्पा, हुम्ला, कालीकोटका खाद्यवस्तु सुर्खेत वा नेपालगञ्जतिर आए भने सिमावट हुने धेरै सम्भावना हुन्छ, उनले भने ‘‘किसानसँग किनेर हामी सिधैँ काठमाडौँमा ल्याउँछौँ, जस्ताको त्यस्तै उपभोक्ताको घरसम्म पुर्याउँछौँ ।’’ द लोकल्स ब्राण्डले परिचित उनलाई आफ्नो ब्राण्डको साख जोगाएर राख्न कम्ती चुनौति छैन ।
त्यसैले त उहाँ कर्णालीका किसानबाट बदमासी नहोस् भनेर अरूले भन्दा महँगो दिएर किसानलाई खुसी पार्छन् । उनको अनुभवमा द लोकल्स जोडिएका ग्राहक गुणस्तरमा ‘नो कम्परमाइज’ तर गुणस्तरीय सामानका लागि पैसा तिर्न उहाँहरूलाई कुनै अप्ठारो छैन । द लोकल्सले सामानको गुणस्तर र स्वाद परीक्षण गरेर मात्रै सामानको मूल्य दिने हुँदा अहिलेसम्म गुणस्तरमा समस्या नभएको चापागाईको दाबी छ ।
स्रोत: गोरखापत्र
Comments