गभर्नर अधिकारीले दायर गरेको रिटमाथि आज पुन: सुनुवाई हुँदै
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आज सुनुवाई हुँदैछ । मंगलबार सुनुवाई नसकिएकोले हेर्दाहेर्दैमा रहेको रिट निवेदनको सुनुवाई आज हुन लागेको हो ।
न्यायाधीशहरु सपना प्रधान मल्ल र टंकप्रसाद मोक्तानको संयुक्त इजलासमा सुनुवाई प्रारम्भ भएपनि समय अभावका कारण बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो । गभर्नर अधिकारीले बिना कारण आफूमाथि छानबिन समिति गठन गरिएको भन्दै यहि वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
गएको वर्षको चैत्र २५ गते बसेको मन्त्रीपरिषद्को बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेसँगै उनी निलम्बनमा परेका थिए ।
न्यायाधीश हरिप्रसाद फुँयालको वैशाख ६ गतेको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएसँगै गभर्नर अधिकारी काममा फर्केका थिए । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २२ मा सरकारले ऐनको दफा २३ बमोजिम गठन भएको जाँचबुझ समितिको सिफारिसमा गभर्नरलाई पदमुक्त गर्ने व्यवस्था छ ।
Comments