निर्वाचन आयो, बैंकबाट धमाधम पैसा बाहिरियो !

देशभर स्थानीय निर्वाचनको माहौल छाएपछि निक्षेपकर्ताहरुले बैंकबाट धमाधम रकम झिक्न थालेका छन् । पछिल्लो ७ दिनमा बैंकबाट १० अर्ब रुपैयाँ बाहिरिएको नेपाल बैंकर्स संघले जनाएको छ । संघका अनुसार वैशाख २ देखि ९ गतेसम्ममा २७ वटा वाणिज्य बैंकबाट १० अर्ब रुपैयाँ निक्षेप बाहिरिएको हो ।

हाल वैशाख ९ गतेसम्मको तथ्यांक हेर्दा २७ वटा वाणिज्य बैंकहरुमा जम्मा ४३ खर्ब ६७ अर्ब रुपैयाँ मात्र निक्षेप रहेको छ । निक्षेप घट्दै गर्दा बैंकहरुले कर्जा लगानी समेत सामान्य रुपमा घटाएको संघले जनाएको छ । अघिल्लो हप्ता अर्थात बैशाख २ गतेसम्ममा दुई अर्ब रुपैयाँले लगानी घटाउँदै ४१ खर्ब ९५ अर्ब कर्जा लगानी गरेका बैंकहरुले पछिल्लो हप्ता थप एक अर्बले कर्जा घटाउँदै ४१ खर्ब ९४ अर्ब रुपैयाँ लगानी गरेको संघले जनाएको छ ।

Comments

Back to top