अर्थमन्त्रालय र राष्ट्र बैंकबीच समन्वय हुनुपर्छः अर्थविद्

अर्थविद्हरुले राष्ट्र बैँक र अर्थमन्त्रालयबीच समन्वय हुनुपर्ने बताएका छन् । नेपाल बुद्धिजीवी परिषद्ले राजधानीमा आयोजना गरेको अर्थतन्त्रमा देखिएका समस्या र समाधानका उपायहरु शीर्षकको कार्यक्रममा बोल्दै वक्ताहरूले सो कुरामा जोड दिईएको हो।

उनीहरुले देशको अर्थतन्त्र संकटग्रस्त अवस्थामा पुग्दासमेत वर्तमान सरकार गम्भीर नबनेको बताए । पूर्वमन्त्री तथा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अर्थतन्त्रका अधिकांश सूचक रातोमा गएकोले मुलुक गम्भीर संकटमा धकेलिएको बताए ।

सरकारले गर्नुपर्ने काम नगर्ने तर नगर्नुपर्ने काम गर्ने प्रवृत्ति देखाएको आरोप लगाउँदै नेता ज्ञवालीले सरकारलाई फजुल खर्च रोक्न, विलासिताका वस्तु आयातमा नियन्त्रण गर्न, पूँजीगत खर्च बढाउन, नीतिगत रुपमा भएका सेटिङ रोक्न र राष्ट्रबैँक माथिको हस्तक्षेप रोक्न आग्रह गरे ।

पूर्व गर्भनर तथा योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले आर्थिक विकासको वातावरण बनाउन पार्टीहरू गम्भीर नभएको बताए ।बेरुजुको मात्रा बढेको, सुशासन कायम हुन नसकेको, पूँजीगत खर्च नबढेको बताउँदै क्षेत्रीले अर्थमन्त्रालय र राष्ट्र बैँकबीच समन्वय हुनुपर्ने उल्लेख गरे ।

यसैगरी, पूर्व अर्थसचिव रामेश्वर खनालले अर्थमन्त्रालय र राष्ट्र बैंकबीच समन्वय नहुँदा पछिल्लो समय समस्या आएको बताए ।यस्तै, राष्ट्र बैंकका पूर्वगभर्नर डा. तिलक रावलले राम्रोसँग काम गरिरहेका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर वर्तमान सरकारले गलत गरेको बताए ।

Comments

Back to top