भेडापालन व्यवसाय खतरामा !
२०७२ सालको विनाशकारी भूकम्प आउनुअघिसम्म गोरखाको उत्तरी गाउँ धार्र्चेका लाप्राकीसँग ६० भन्दा धेरै भेडीगोठ थिए । भेडाबाट हुने आम्दानीले वर्षभरिको अन्न जोहो गर्ने र चाडपर्व मनाउने लाप्राकीसँग हिजोआज मुस्किलले छवटा भेडीगोठ छन् ।
“फिरन्ते जीवन जिउनुपर्ने र दुःख धेरै पाइने भएपछि युवा पुस्ता भेडापालनप्रति आकर्षित छैनन्,” स्थानीय केशवराज गुरुङले भने । एक दशकअघिसम्म उनका दुईवटा भेडीगोठ थिए, अहिले छैनन् ।
एउटा भेडीगोठमा ४०० वटासम्म भेडा हुने पुर्णे गुरुङले बताए । “कमाइ राम्रो हुने भए पनि दिनरात हिँड्नु पर्ने, खान र सुत्न नपाइने भएपछि धेरैले यसलाई मन पराउँदैनन् । लेकबेँसी गरिरहनुपर्ने र दुःख धेरै भएकाले अहिलेका केटाले यो काम गर्न नै खोजेनन्,” उनले थपे ।
धेरै चिसो पनि नसहने र धेरै गर्मी पनि नरुचाउने भेडालाई वर्षभरि नै लेकबेशी डुलाइरहनुपर्ने भएकाले बढी दुःख हुने धेरैजसोको अनुभव छ । “एउटा घुम्ती गोठबाट अर्काे घुम्ती गोठसम्म जान घण्टौँ लाग्छ, खान र बस्नको ठेगान हुँदैन । तत्कालै आम्दानी हुँदैन,” राजु गुरुङले थपे ।
केही पाका उमेरका लाप्राकीले अझै पनि भेडापालन गरिरहेका भए पनि युवा भने यो पेसाबाट विस्थापन हुने स्थितिमा रहेको राजुले भने ।आफ्नो संस्कार र संस्कृतिसँग प्रत्यक्ष जोडिएको भेडापालन व्यवसाय विस्थापनको सङ्घारमा पुग्नु निकै दुःखदायी रहेको डेगबहादुर गुरुङले बताए । हाम्रो जीवनशैली र रीतिरिवाज भेडासँग जोडिएकाले भेडापालनको संरक्षण र प्रवद्र्धनका लागि सरकारीस्तरबाट सहयोग आवश्यक रहेको उनले बताए ।
गुरुङ जातिको चाडपर्व र रीतिरिवाजसँग भेडा जोडिने भएकाले त्यसको संरक्षणमा गाउँपालिकाले प्रयास सुरु गरेको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तबहादुर गुरुङले बताए । उनका अनुसार गाउँपालिकाले भेडापालनलाई प्रोत्साहन गरिरहेको छ । उनले चितवनमा हात्ती र गैँडा, बर्दियामा बाघ भनेजस्तै धार्चेको परिचय भेडा पनि भएकाले भेडीगोठ जोगाउन अनुदानका कार्यक्रम सुुरु गरेको जानकारी दिए ।
Comments