मिदास टच: घरमै पुगेर सेवा दिने सैलुन

दुई वर्षअघि कोभिड महामारी सुरु हुँदासम्म पूजा अग्रवाल र सुस्मिता गौतम काठमाडौंकै एक कम्पनीमा काम गर्थे। उनीहरुले काम गर्ने ओयो नेपाल कम्पनीले महामारीबाट प्रभावित भएपछि रोजगारी कटौती गर्‍यो। भर्खरै करिअर सुरु गर्दै गरेका दुबैको जागिर पनि गुम्यो। त्यो बीचमा उनीहरु क्लोजिङका लागि अफिस भने गई नै रहेका थिए।

“काम सकेपछि हामी केही समय सम्भावित बिजनेस आइडियाबारे छलफल गर्थ्यौं |” २९ वर्षकी पूजालाई करिअर ग्रोथको चिन्ता थियो भने २५ वर्षमै बेरोजगार बन्न सुस्मितालाई पनि मञ्जुर थिएन। उनीहरु दुवै के काम गर्न सकिन्छ भनेर दिमाग खियाउन थाले।

सानैबाट सेल्फ केयर र सौन्दर्यतिर निकै झुकाव भएकी पूजा भन्छिन-“लकडाउनको समय थियो, मानिसहरुसँग टन्नै समय त थियो तर कोही पनि पार्लर वा सैलुनतिर जान पाएका थिएनन्। मेरो जस्तै धेरै महिलाहरुको रोजगारी मात्र होइन, ब्युटी र हेयर केयर रुटिन पनि महामारीले नराम्ररी बिगारेको थियो |”

त्यसैबेला पूजाले सोचिन् ‘चुपचाप यसरी घरमा बस्नुभन्दा घरघरमा ब्युटी सैलुन पुर्‍याउन पाए त धेरै महिलाहरुलाई सजिलो हुन्थ्यो होला !’ पूजा र सुस्मिताले होम सैलुनको व्यवसाय अघि बढाउने सोच बनाए। तर यसको लागि मार्केट रिसर्च जरुरी थियो। रोजगारी गुमेकाले फुर्सद पनि टन्नै। उनीहरुले चार महिना मार्केट रिसर्चमै बिताए।

२०७७ असोजमा उनीहरुले ‘मिदास टच ब्युटी सर्भिस’ लञ्च गरे, जसले घर घरमै पुगेर पार्लर र सैलुनको सेवा दिन्छ |

जागिर गुमेपछि बने उद्यमी

ब्युटी सर्भिसमा निकै रूचि भएकी पूजा पहिलेदेखि नै सौन्दर्यसम्बन्धी आर्टिकलहरू पढ्ने र भिडियोहरू हेर्ने गर्थिन् | तीन वर्ष पहिले दिदी भेट्न भारत जाँदा पहिलो पटक उनले यस्तो सेवा दिदीको घरमै लिएकी थिइन्। त्यो बेलै उनलाई नेपालमा पनि यस्तै काम गर्ने सैलुनहरु भइदिए कति सजिलो हुन्थ्यो भन्ने लागेको थियो। फर्केपछि काममा तल्लिन भइन्। जब रोजगारी गुम्यो, अनि मात्र उनले त्यही सोचलाई व्यवसायमा बदल्ने सपना देखिन्।

“लकडाउनले जागिर गुम्यो। त्यसमाथि सैलुनहरु बन्द हुँदा न कपाल काट्न पाइयो न थ्रेडिङ नै गर्न । त्यही लकडाउनले हामीलाई बेरोजगार पनि बनायो, व्यवसाय थाल्ने किक पनि त्यहीँबाट मिल्यो।” पूजाले सुनाइन्।

मार्केट रिसर्च गर्दा उनीहरुले एक सय कामकाजी महिलाहरुलाई एउटा प्रश्नावली बनाएर बाँडेका थिए।

ग्राहकहरूले घरमै सौन्दर्यसम्बन्धी सेवा प्राप्त गर्दा कस्तो प्रतिक्रिया दिन्छन् भनेर बुझ्ने उनीहरुको आशय थियो। त्यस क्रममा ७० प्रतिशत महिलाले आफ्नो व्यस्तताका कारण सैलुन जान नपाएको र आफ्नो हेरचाहको लागि समय नभएको बताए। उनीहरुले महामारीका बेलामा बाहिर जानुभन्दा घरमै सैलुन सुविधा लिन पाउनुलाई उत्साहजनक समर्थन जनाएका रहेछन्। त्यसपछि उनीहरुले ग्राहकहरुले कस्तो कस्तो सेवाहरु बढी खोज्ने रहेछन् भनेर बुझ्न अर्को सर्वेक्षण पनि गरेपछि मात्र काम थालेका हुन्।

सबैभन्दा पहिले उनीहरुले मिदास टचको इन्स्टाग्राम पेज बनाएर सफ्ट लन्च गरे | पूजा र सुस्मिताले आफैंले कमाएको पैसाबाट पाँच लाख रुपैयाँ लगानी गरेर यो व्यवसाय सुरु गरेका हुन्।

व्यावसायिक परिवारबाट आएकी पूजालाई उनका बुवाले काम गर्न निकै हौस्याए। बुवाले व्यवसायको बारेमा धेरै सल्लाह र सुझावहरु दिने गरेको उनी बताउँछिन्।

ग्रीक पौराणिक कथाका प्रख्यात राजा मिदासबाट आफ्नो व्यवसायका नाम राखेका पूजा र सुस्मिताले आफ्नो कामबाट सेवाग्राहीलाई गोल्डेन टच दिने उद्देश्य रहेको बताउँछन्।

“मिदासले छोएका सबै चीज सुनमा परिणत गर्ने क्षमता थियो। हाम्रा ब्युटिसियनहरुले ग्राहकलाई घरमै गएर दिने सेवाबाट गोल्डेन टच दिनेमा ढुक्क छौँ,” उनीहरुले सुनाए।

पूजा भन्छिन्, “हामीले सुरु गर्दा हप्तामा दुईवटासम्म मात्रै अपोइन्टमेन्ट बुकिङ हुन्थ्यो । अहिले त दिनमा तीनवटा भन्दा बढी अपोइन्टमेन्टहरुको सर्भिस पूरा गर्छौं।”

हाल मिदास टचको सेवा लिन काठमाडौं बाहिरदेखि पनि निकै माग आउन थालेको छ। तर अबको एक वर्ष उनीहरु मिदास टचलाई काठमाडौं उपत्यकाभित्रै सीमित राखेर व्यवसाय गर्ने सोचमा छन्। काठमाडौंमा राम्रोसँग स्थापित भइसकेपछि मात्र उनीहरु अन्य शहरहरुमा पनि सेवा बिस्तार गर्दै जाने पूजा बताउँछिन्। उनी भन्छिन्- “हामी अब आफ्नै अर्ग्यानिक कस्मेटिक्स लाइन सुरु गर्ने योजना पनि बनाइरहेका छौं।”

Comments

Back to top