देशका ७७ जिल्लामै पुग्यो नेपाल टेलिकमको एनटी फाइबर

नेपाल टेलिकमले हुम्लाको सदरमुकाम सिमकोटमा एफटीटीएच प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराएको छ।

शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भर्चुअल रुपमा सो सेवाको शुभारम्भ गरे। योसँगै नेपाल टेलिकमको एनटी फाइबर नेपालका सबै जिल्लामा पुगेको छ।

सो अवसरमा मन्त्री गुरुङले डिजिटल नेपाल बनाउने अभियानमा सरकार लागेको र नेपालका सबै स्थानीय निकायका कार्यालय सम्म दूरसञ्चार सेवा पुर्याउने कार्यका लागि नेपाल टेलिकमले महत्वपूर्ण भूमिका खेल्ने बताए।

सरकारको एक महत्वपूर्ण कदमको रुपमा देशका ७७ वटै जिल्लामा फाइबर सेवा पुगेको र यसबाट आगामी दिनमा अझै महत्वपूर्ण उपलब्धि हासिल हुने उनको अपेक्षा छ। महत्वपूर्ण उपलब्धिका लागि मन्त्री गुरुङले नेपाल टेलिकमलाई धन्यवाद दिए।

नेपाल टेलिकम सञ्चालक समितिका अध्यक्ष एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले कम्पनी र सरकारका लागि यो महत्वपूर्ण दिन भएको बताउँदै सेवा उपलब्ध गराउने कार्यमा सहयोग पु¥याउनु हुने जनप्रतिनिधि र कर्मचारी सबैलाई धन्यवाद दिइन्।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) ले पहिले कपर प्रविधिबाट इन्टरनेट सेवा उपलब्ध भइरहेकोमा अब अन्य जिल्लामा जस्तै हुम्ला जिल्लामा पनि फाइबरबाट इन्टरनेट सेवा उपलब्ध हुने र सेवामा पनि स्तरोन्नति हुने बताइन्।

कर्णालीका विकट जिल्लाहरुमा समेत नेपाल टेलिकमले आफ्नो स्रोत, साधन र सम्भाव्यताका आधारमा सेवा विस्तार गरिरहेको र यस्ता स्थानमा सोलारबाट समेत सेवा सञ्चालन गरेको उनको भनाइ छ।

कार्यक्रममा हुम्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा सदस्य छिरिङ डम्डुल लामा र अन्य जनप्रतिनिधिहरूका साथै मन्त्रालय र नेपाल टेलिकमका उच्च पदस्थ अधिकृतहरुको समेत सहभागिता रहेको थियो।

एजेन्सी

Comments

Back to top