भेगन डेयरी नेपाल: एक रचनात्मक उद्दम

धेरै नेपालीहरू आफ्नो वातावरणीय पदचिह्न, नैतिक प्रभाव र आफ्नो स्वास्थ्य छनौटहरूबारे सचेत हुन थालेपछि बोटबिरुवामा आधारित जीवनशैली अवलम्बन गर्न खोजिरहेका छन्। यो परिवर्तनलाई भेगन डेयरी नेपालको स्थापनाले सजिलो बनाइएको छ जसले पशुजन्य खाद्य उत्पादनहरूका सट्टा आवश्यक भिटामिन पूरकहरूको विकल्पहरू प्रदान गर्दछ।

भेगन डेयरी नेपालका सह-संस्थापक सुश्री काजोल सेठिया हुन् जो शाकाहारी जीवनशैली, दिगो भविष्य, नेपाली समुदायका लागि पहुँचयोग्य र किफायती डाइट विकल्पहरु बनाउने एक सामाजिक उद्दमी हुन् ।

भेगन डेयरी नेपालको स्थापना हुनु अघि बजारमा पशु-आधारित उत्पादन विकल्पहरूको अभावले गैर-शाकाहारी उपभोक्ताहरूलाई बनस्पती-आधारित जीवनशैली प्रयोग गर्न कुनै प्रोत्साहन थिएन । जनावरको पीडाबाट मुक्त डाइट विकल्पको अभाव खट्किदा सेठियाले यो संस्था खोलेको बताईन् ।

हाल संस्थाको खाद्य उत्पादनहरूमा बनस्पती आधारित दूध, दही, नौनी, चीज, मह र तेलहरू छन्। आफ्नो उत्पादनका बारे सेठियाले भनिन्, “हाम्रो सप्लिमेन्ट लाइन १००% शाकाहारी छ । भेगन बी१२ सिजनिङ, अल्गा ओमेगा ३ डीएचए, मल्टिभिटामिन, क्लिन प्रोटिन, क्लिन कोलाजेन, आँखाका भिटामिन र किड्स मल्टिभिटामिनहरू पाम तेल जस्ता अस्थाई संरक्षकहरूबाट पनि मुक्त छन्। हामी चाँडै लन्च हुने नयाँ उत्पादनहरू थपेर हाम्रो लाइनलाई विविधीकरण गर्दैछौँ ।”

उनले थपिन्, “हाम्रा अधिकांश उत्पादनहरू घरभित्रै उत्पादन गरिन्छ र केहि डाइट विश्वभरका शीर्ष निर्माताहरूबाट आउटसोर्स गरिन्छ। प्लाष्टिकको फोहोर कम गर्नका लागि हाम्रो घरभित्र निर्मित उत्पादनहरू बायोडिग्रेडेबल ग्लास जारमा प्याकेजिंग गरिन्छ। हामी धेरै स्थानीय सामग्रीहरू प्रयोग गर्ने गर्छौं तर केही सामग्रीहरू आयात पनि गर्दछौँ ।”

यी सामानहरु कम्पनीको इन्स्टाग्राम र फेसबुक पृष्ठहरूमा सन्देश पठाएर खरिद गर्न सकिन्छ। अनलाइन प्लेटफर्म दराजका साथै शहर वरपरका रिटेल स्टोरहरू जस्तै जाल्पा कफी, अवता वेलनेस सेन्टर, हिमगिरी अर्गानिक हब बौद्ध आदिमा पनि यी उत्पादनहरु उपलब्ध छन् ।

उद्दमी सेठियाले भनिन्, “हामी बिस्तारै बढ्दैछौँ किनकि हामी यसलाई पारिवारिक व्यवसायको रुपमा राख्न चाहन्छौं। हामीसँग काठमाण्डौ बाहिर विस्तार गर्ने योजना छ र हाम्रा उत्पादनहरू निर्यात गरी शाकाहारी-मैत्री नेपाल बनाउँदै यी उत्पादनहरूलाई विश्वव्यापी रूपमा परिचय गराउने योजना पनि छ।”

यसरी, जीवप्रेम र वातावरण संरक्षण गर्न दिगो सोँच बनाएर खोलिएको यस कम्पनीले नेपालमा नवीन तथा रचनात्मक काम गर्ने उद्दमीहरुको कमी छैन भन्ने कुरा प्रष्ट हुन्छ । यस कम्पनीले सयौँ मानिसहरुलाई रोजगारी दिनुको साथै नेपालमा उद्दमको लागि असीम अवसरहरु रहेको कुरा पनि छर्लङ्ग पार्छ ।नेपालमा नयाँ उद्दम गर्न चाहनेहरुले यस्ता स्टार्ट-अपबाट पाठ सिकेर अगाडि बढ्नु निकै फाईदाजनक हुन्छ ।

Comments

Back to top