निर्यात ५९.८ प्रतिशतले बढ्यो
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को दश महिनामा कुल वस्तु निर्यात ५९.८ प्रतिशतले वृद्धि भई रु.१ खर्ब ७३ अर्ब ३५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ३२.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ७२.९ प्रतिशत र २५.६ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २४.९ प्रतिशतले घटेको छ ।
वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलैंचा, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, औषधी (आयुर्वेदिक), दन्त मञ्जन, तार लगायतका वस्तुको निर्यात घटेको छ । आर्थिक वर्ष २०७८ ७९ को दश महिनामा कुल वस्तु आयात २८.० प्रतिशतले वृद्धि भई १६ खर्ब ४ अर्ब ६५ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २२.३ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २२.० प्रतिशत, २३.८ प्रतिशत र ४९.९ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, सुन, अन्य मेशिनरी तथा पार्ट्स लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, रासायनिक मल, सिमेन्ट, दाल, धान तथा चामल लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ कन्चनपुर र मेची भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्पm भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ आर्थिक वर्ष २०७८/७९ को दश महिनामा कुल वस्तु व्यापार घाटा २४.९ प्रतिशतले वृद्धि भई रु.१४ खर्ब ३१ अर्ब ३० करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २१.५ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.६ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु. १८३ अर्ब ९४ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु. १५५ अर्ब ८ करोड बराबरको भएको थियो ।
Comments