१० महिनामा ८ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो !
चालु आर्थिक वर्षको १० महिना(साउनदेखि बैशाख) सम्म करिब ८ खर्ब रुपैयाँ भन्दा बढी रेमिट्यान्स नेपाल भित्रिएको छ । बैशाख महिनामा स्थानीय निर्वाचन एवम् डलर विनिमर दर समेत उच्च रहेका कारण रेमिट्यान्समा केही वृद्धि देखिएको हो ।
केन्द्रीय बैंकले प्रकाशित गरेका बैशाखसम्मको मासिक विवरण अनुसार दश महिनामा ८ खर्ब ११ अर्ब ७९ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.२ प्रतिशतले बढी हो ।अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.२ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.६ प्रतिशतले कमी आई ६ अर्ब ७६ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.१ प्रतिशतले बढेको थियो ।समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख ७८ हजार २ सय ९८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८.४ प्रतिशतले घटेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १८५.५ प्रतिशतले वृद्धि भई २ लाख ३० हजार ४६६ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५४ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर ०.१ प्रतिशतले वृद्धि भई ९ खर्ब ३ अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १७.१ प्रतिशतले बढेको थियो ।
बैशाख महिना स्थानीय चुनाव परेको तथा नेपाली रुपियाँको तुलनामा डलरको भाउ बढिरहेकाले पनि पछिल्लो समय केही मात्रामा भए पनि रेमिट्यान्स पठाउने बढेको बताइएको छ । औपचारिक रुपमा रेमिट्यान्स भित्र्याउन सामान्य भन्दा रेमिट्यान्स खातामा १ प्रतिशत बढी व्याज दिने नीति केन्द्रीय बैंकले लिएको छ भने सरकारले हालै ल्याएको बजेटमा रेमिट्न्स पठाउनेलाई प्रोत्साहन गर्दै आईपीओ तथा एफपीओमा समेत १० प्रतिशत कोटा छुट्याउने घोषणा गरेको छ ।
Comments