वीरगञ्जका बन्द चिनी र कृषि औजार कारखाना पुन: सञ्चालन हुने

अर्थमन्त्री जनार्दन शर्माले दुई दशकदेखि बन्द रहेका वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना सञ्चालन गर्ने घोषणा गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४६औँ साधारण सभाको उद्घाटन समारोहलाई वीरगञ्जमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना चलाउने भनेरै बजेटमा उल्लेख गरिएकोे बताए ।

वीरगञ्ज चिनी कारखाना र कृषि औजार कारखाना सञ्चालनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने जनाउँदै उनले बन्द कारखाना सञ्चालनकै लागि नयाँ बजेटमा रकम व्यवस्था गरिएको र सरकारले छ-सात महिनाअघि नै कर्मचारीको व्यवस्थापन गर्ने कार्यसमेत सुरु गरिसकेको जानकारी दिए ।

विगत छ-सात महिनादेखि निरन्तर उद्योग सञ्चालनका सम्बन्धमा गरिएको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा बजेटमा उद्योग सञ्चालन गर्ने कार्यक्रम राखिएको मन्त्री शर्माले बताए ।

उद्योग वाणिज्य सङ्घको उक्त कार्यक्रममा पुग्नुअघि अर्थमन्त्री शर्मा, अर्थसचिव मधुकुमार मरासिनी, राजस्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव भूपाल बराललगायतको टोलीले शनिबार बिहान वीरगञ्ज चिनी काराखानाको स्थलगत निरीक्षण समेत गरेको थियो । निरीक्षणका क्रममा कारखानामा कार्यरत कर्मचारीले चिनी कारखाना सञ्चालनयोग्य अवस्थामा रहेको जानकारी गराएको बताइएको छ ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४६औँ साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्ने क्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले वीरगञ्जका उद्योगी व्यवसायीसँग सहकार्य गरेर वीरगञ्ज चिनी कारखाना सञ्चालन गर्न अर्थमन्त्री शर्मालाई सुझावसमेत दिएका थिए ।

कार्यक्रममा सम्बोधनका क्रममा मन्त्री शर्माले सर्वोच्च अदालतले जेसुकै आदेश गरे पनि निजगढ विमानस्थल बनेरै छाड्ने दाबी पनि गरे । मन्त्री शर्माले भने, “निजगढ विमानस्थल बनाउनुपर्छ, बन्छ, यो जनार्दन शर्माको प्रतिबद्धता भयो । त्यसैले सरकारले नयाँ बजेटमा निजगढ विमानस्थललाई उच्च प्राथमिकतामा राखेको छ ।”

उनले निजगढ विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमात्र नभई मधेस र मुलुकै सर्वाङ्गीण आर्थिक विकासका लागि आवश्यक भएको तर्कसमेत गरे ।

Comments

Back to top