बिदाले पेट्रोलियम आपूर्तिमा समस्या, पेट्रोल पम्पमा लामो लाइन

हप्ताको दुई दिन सार्वजनिक बिदा हुँदा बजारमा पेट्रोलियम पदार्थको अभाव देखिएको छ । सोमबार काठमाडौँ उपत्यकाका अधिकांश पम्पमा डिजल पेट्रोल भर्ने सवारीसाधनको लामो लाइन थियो । नेपाल आयल निगमले शनिबार र आइतबार डिपो बन्द गरेपछि पम्पमा अभाव भएको हो तर पेट्रोलियम व्यवसायीले भने निगमले इन्धन बिक्री कटौती गरेको आरोप लगाएका छन् ।

आफूहरूले माग गरेजति पेट्रोल, डिजल नपाएको व्यवसायीको गुनासो छ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले भने, “व्यवसायीले मागेजति पाएका छैनौँ, निगमले अभाव गरायो । मूल्य वृद्धि गर्न मनोवैज्ञानिक दबाब दिँदै छ, बजारमा आपूर्ति बिक्री सहज भएन भने असन्तुलन हुन्छ ।” प्रधानका अनुसार निगमले दुई हजार किलोलिटर माग गर्दा एक हजार दुई सय किलोलिटर दिएकाले बजारमा अभाव देखिएको छ ।

नेपाल आयल निगमले भने पेट्रोलियम पदार्थको आपूर्ति कटौती नगरिएको जनाएको छ । आइतबार र सोमबारको सार्वजनिक बिदामा डिपो बन्द हुँदा अभावजस्तो देखिएको निगमका प्रवक्ता विनीतमणि उपाध्यायले जानकारी दिए । उनले भने, “अभाव हुनुपर्ने कुनै कारण छैन, आपूर्ति सहज छ । मागअनुसार सप्लाई भएको छ तर खै किन हो व्यवसायीले माग बढाएका छन् । त्यो हामीले दिएका छैनौँ, पहिले जति हो त्यति नै दिएका छौँ ।”

सोमबार डिपो खुलेपछि सप्लाई गरिएकाले मङ्गलबार बजार सहज हुने निगमले जनाएको छ । पुराना पम्पमा भण्डारण क्षमता कम भएकाले पनि अभाव भएको निगमको दाबी छ । प्रवक्ता उपाध्यायले भने, “पेट्रोलियम पदार्थको खपत घटाउने नै सरकारको नीति छ । अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य बढिरहेको छ नेपालमा पनि अझ बढ्छ, आयात घटेको छैन तर शनिबार र आइतबार बिक्री वितरण नभएर हो ।”

सार्वजनिक यातायातको भाडा बढ्ने

पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सार्वजनिक यातायातको भाडा वृद्धि हुने भएको छ । यातायात व्यवस्था विभागका प्रवक्ता लोकनाथ भुसालले भने, “गाडीभाडा समायोजनको स्वचालित मूल्य समायोजन गर्ने निर्णय पहिल्यै भइसकेको छ । पेट्रोलियमको मूल्य बढेपछि के गर्ने भन्ने कुरा विभागमा रहेको कमिटीले काम गर्छ ।”

वैज्ञानिक भाडादरको स्वचालित प्रणालीअनुसार इन्धनको मूल्यमा पाँच प्रतिशत थपघट हुँदा भाडादर समायोजन गर्नुपर्ने व्यवस्था छ । सार्वजनिक यातायातको वैज्ञानिक भाडादर समायोजनका लागि पेट्रोलियम पदार्थको हिस्सा ३५ प्रतिशत राखिएको छ, जसअनुसार डिजलपेट्रोलको मूल्य वृद्धिलाई आधार मानेर भाडा समायोजन हुनेछ । यातायात व्यवस्था विभागले जेठ ३ गते सार्वजनिक यातायातको भाडा वृद्धि गरेको थियो ।

Comments

Back to top