बजेटको अन्तिम तयारी सकियो, छाप्ने काम हुँदै

आगामी आर्थिक वर्षको बजेटको अन्तिम तयारीमा रहेको सरकारले छपाइको काम थालनी गरेको छ। आर्थिक विधेयकबाहेक अरु कामलाई अर्थ मन्त्रालयले लगभग टुङ्गो लगाएपछि छपाइ थालिएको हो। चैत १ देखि ‘रुटिन’ नै तयार गरेर अर्थ मन्त्रालयले बजेट निर्माण सुरु गरेको थियो।

जेठ ८ मा व्यय अनुमान र खर्च शीर्षकगत अनुमानको अंक रुजुसहित (रातो किताब) अन्तिम मस्यौदा तयार भएको छ। यसलाई सोमबारदेखि छाप्न थालिएको मन्त्रालयले जनाएको छ। जेठ १२ गते आर्थिक विधेयक र विनियोजन विधेयकलाई अन्तिम रुप दिने तयारी छ। सोही दिन बजेट भाषण पनि अन्तिम टुंगो लगाउने आफ्नो रुपरेखामा अर्थ मन्त्रालयले समावेश गरेको छ।

जेठ १३ मा स्रोतपुस्तिका छपाइका लागि प्रेसमा पठाउने र जेठ १४ गते संसदको दुवै सदनमा आर्थिक सर्वेक्षण र संस्थानको प्रगति विवरण प्रस्तुत गरिनेछ। जेठ १५ गते संसदको दुवै सदनमा बजेट प्रस्तुत गरिनेछ। यही जेठ ३ गतेदेखि बजेट अधिवेशन सुरु भएको थियो। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम १० गते सार्वजनिक हुने जनाईएको छ।

Comments

Back to top