तरलता समस्या सुल्झिन केही समय लाग्छ: गभर्नर
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उपभोग घटोस् भनेर नेपाल राष्ट्र बैंकले ब्याजदर बढाउने नीति लिएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक स्थायित्वका लागि महासंघको पहल विषयक आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा गभर्नर अधिकारीले भने, “मूल्य बढ्दा समेत उपभोग घट्न सकेको छैन् । जतिसुकै मूल्य परेपनि हाम्रा उपभोक्ता किन्न तयार भएका छन् । जसले गर्दा ब्याजदर बढ्दा समेत उपभोग घट्न सकेको छैन् ।”
अर्थतन्त्र बचाउन सक्यो भने व्यवसाय गर्न मिल्ने भन्दै उनले पछिल्लो समय सर्तक भएर काम गर्नुपर्ने अवस्था रहेको बताए ।राष्ट्र बैंकले एलसी खोल्दा नगद मार्जिन राख्ने, बैंकको ब्याजदर बढाउने र केही वस्तु आयातमा एलसी नखोल्ने नीति राष्ट्रिय हितका लागि लिइएको पनि उनको भनाइ छ । एलसी खोल्दा नगद मार्जिनको नीति लिएपछि व्यवसायीले भन्सारको बाटो छलेर सामान ल्याइरहेको समेत गभर्नर अधिकारीले आशंका व्यक्त गरे ।
उनले भने, “आजका दिनमा अर्थतन्त्रको अवस्था सकारात्मक छैन । एकै वर्षमा २ -३ अर्ब डलरको रिजर्भ घट्नु गम्भीर विषय हो । सधैँ हामीले यो समस्या झेल्न सक्दैनौँ । अहिले नाफा कमाउनेभन्दा पनि अर्थतन्त्र जोगाउने समय हो । सर्तक भएर काम गर्नुपर्ने छ ।”
आर्थिक अवस्था सहज बनाउन केन्द्रीय बैंकले हदै सम्मको इन्टरभेन्सन गरेकाले व्यवसायीबाट समेत संकटको अवस्थामा सहयोग हुनुपर्ने उनको भनाइ छ ।
पछिल्लो समय कोरोना महामारीपछि बजारमा माग बढेको अनुपातमा आपूर्ति बढ्न नसक्दा अर्थतन्त्रमा समस्या देखिएको गभर्नर अधिकारीको भनाइ छ ।
“कोरोनापछि उपभोग अत्याधिक बढेको देखिन्छ । उच्च दरमा माग बढ्दा संसारभर मूल्य बढेको छ,” अधिकारीले भने, “जस्तो टर्कीमा औषतमा ७० प्रतिशतले मूल्य बढेको छ । ४० वर्षपछि अमेरिकामा ८ प्रतिशले मूल्य बढेको छ । युरोपमा २५ वर्षपछि ५ प्रतिशतले मुल्य बढेको छ ।” कोरोना महामारीपछि उपभोग बढेको अनुपातमा उत्पादन नबढ्दा संसारका सबै धनी गरिब देशलाई मूल्यवृद्धिले असर गरिरहेको अधिकारीको भनाइ छ ।
उनले तत्कालै बजारमा तरलता अभावको समस्या नहट्ने पनि बताए। राष्ट्र बैंकले तरलता सहज बनाउन प्रयास गरिरहेको भए पनि तरलताको समस्या अझै केहि समय रहने देखिएको उनको भनाइ छ ।
अधिकारीले अहिले पनि अर्थत्रन्त्रका सूचकहरु राम्रो नरहेको बताउँदै तरलताको समस्या अझै केहि समय रहने उनको भनाइ छ । अहिले शोधानान्तर स्थिति निकै नकारात्मक रहेको र यो बजारको तरलतासँग गाँसिएकोले तरलता समस्या अझै केहि समय रहने पनि उनले बताए।
Comments