प्राङ्गारिक मल प्रयोग गर्न प्रेरित गर्दै कृषि उद्यमी
धनुषाको गणेशमान चारनाथ नगरपालिका–२ बरमझियाका ५० वर्षीय रामपुकार यादवले रासायनिक मल र कुनै किीटनाशक औषधीको प्रयोगबिना नै उन्नत आलु उब्जाएका छन् । उनले रासायनिक मल र कीटनाशक औषधीको प्रयोगै नगरी छ कठ्ठा जमिनमा गरेकोे उन्नत आलुखेतीको बारेमा यतिखेर गाउँमा चर्चाको विषय बनेको छ ।
रामपुकारको आलुबारी अहिले पनि हरियो छ । दाना पनि ठूल्ठूला लागेका छन् । रासायनिक मलको प्रयोगबिना टुसा नपलाउने खेतमा यस्तो लहलहाउँदो आलुबारी देखेर वरपर गाउँका किसान छक्क परेका छन् । वरपर गाउँका किसान रामपुकार कहाँ जिज्ञासा लिएर पुग्ने गरेका छन् । यति मात्र हैन उनको यो आलुबारी हेर्न र यसबारे जिज्ञासा राख्न दुई–चार जना किसान दिनहुँ घरसम्म आइपुग्ने गरेका छन् ।
विगत दुई वर्षदेखि आफैले गँड्यौला मल उत्पादन गरेर खेतबारीमा प्रयोग गरेपछिको प्रतिफल भएको रहस्य खोल्दै भेट्न आउने किसानलाई पनि बढीभन्दा बढी प्राङ्गारिक मलको प्रयोग गर्न सुझाव रामपुकार दिन्छन् । उनी भेट्न आउने किसानलाई कोसेलीस्वरुप प्राङ्गारिक मल दिएर पठाउँछन् । केही महिना अघिसम्म रामपुकारको काम देखेर गाउँमा प्रायः जसोले खेदो खन्थे ।
पछिल्लो समय किसानहरु रासायनिक मलमा निर्भर भएको बेला रामपुकारले उत्पादन गरेको गँड्यौला मलमाथि गाउँका किसानलाई विश्वास नहुनु कुनै अनौठो विषय थिएन । तर अहिले त्यसको ठिक उल्टो भएको छ ।
रामपुकार गाउँका किसानको मन जित्न थाल्नुभएको छ । त्यस भेगमा अहिले गँड्यौला मलप्रति किसानको आकर्षण बढ्न थालेको छ । उनले अहिले आठवटा खाडल विस्तार गरेर गँड्यौला मल उत्पादन गरिरहेका छन् ।
दुई वर्षअघि धनुषाको वीरेन्द्रबजारमा यूएनडिपीको आर्थिक सहयोगमा जनकपुरधामस्थित एक गैर सरकारी संस्था सामुदायिक सुधार केन्द्र (सिआइसी)ले गँड्यौला मल बनाउने तरिका र विधिसम्बन्धी तालिमको आयोजना गरेको थियो । त्यसै तालिमबाट आफूले गँड्यौला मल बनाउने तरिकाबारे सिकेको रामपुकार बताउँछन् । उनका अनुसार तालिमका आयोजक संस्थाले मल उत्पादन गर्न प्रत्येक सहभागीलाई सात किलोको दरले गँड्यौला निःशुल्करुपमा उपलब्ध गराएको थियो ।
दुई बिघा जग्गामा खेती गर्दै आएका उनले सुरुमा आफ्नै खेतबारीमा प्रयोग गर्न प्राङ्गारिक मलको उत्पादन सुरु गरेका हुन्। प्राङ्गारिक मलको प्रयोगले उत्पादनमा व्यापक फरक देखिएपछि व्यावसायिक रुपले यसको उत्पादन गर्ने मनसाय बनाएको उनी सुनाउँछन् ।
उनले आलुबालीमा कुनै पनि रासायनिक मल प्रयोग गरेका छैनन् । गँड्यौला मलको प्रयोग मात्र गरेका छन्। बिरुवा अहिले पनि हरियो छ । रासायनिक मल प्रयोग गरेको अर्काको आलुखेती देखाउँदै रामपुकारले भने, “त्यस खेतको आलुको बिरुवा हेर्नुस्, सबै सुक्न थाल्यो । पातहरु पहेँला भइसके ।”
आफ्नो खेतीको उत्पादन देखेर गाउँका अन्य किसानले गँड्यौला मलको महत्व बुझ्दै गएको उनको भनाइ छ । “सुरुको दिनमा यो मलप्रति कसैलाई विश्वास थिएन । उत्पादित मल बिक्री गर्न समस्या थियो । तर अब यसको महत्व धेरैलाई थाहा भइसक्यो । अहिले गाउँका मात्र नभएर टाढा–टाढाका किसान मल लिन यहाँ आउने गरेका छन्,” खुशी हुँदै यादवले भने ।
छिट्टै आफ्नै नाउँमा एउटा कम्पनी दर्ता गराएर गँड्यौला मल बिक्री केन्द्र सञ्चालन गर्ने योजना रहेको यादवले सुनाए ।
माटोको प्राकृतिक गुण कायम राख्नुका साथै माटोको मलिलोपना बढाउन गँड्यौला मल एकदमै उपयोगी भएको कृषि प्राविधिक (जेटिए) नरेशचन्द्र बरबरियाले बताए । गाउँघरमा गाई भैँसीको गोबर तथा पातपतिङ्गर प्रशस्त पाउने र मल बनाउन सजिलो हुने हुँदा गणेशमान चारनाथ नगरपालिकाका २५ जना किसानलाई दुई वर्षअघि गँड्यौला मल बनाउने तालिम दिइएकोे सामुदायिक सुधार केन्द्र(सिआइसी)का अध्यक्ष सञ्जय साहले जानकारी दिए ।
गँड्यौला मल रासायनिक मलभन्दा राम्रो र स्वास्थ्यमा कुनै पनि हानि नगर्ने र यसको प्रयोगले माटोलाई केही पनि नोक्सान नगरी माटोको उर्वराशक्ति बढाउने भएकाले उत्पादनमा जोड दिन तालिम तथा प्राविधिक सहयोग गरेर किसानमा जागरुकता पैदा गर्ने प्रयासमा लागेको उनले बताए ।
Comments