बाजुरामा बङ्गुरपालन व्यवसाय फस्टाउँदै

बाजुराको बूढीगङ्गा नगरपालिकाका तिलक जोशी बङ्गुरपालन व्यवसायमा रमाएका छन् । बङ्गुरलाई दाना पानी खुवाउने र खोर सफा गर्ने उनको दैनिकी बनेको छ । उनको यो दिनचर्या चलेको झन्डै तीन वर्ष भयो । तीन वर्षअघि स्नातकोत्तर पढाइ सकेर घर फर्केपछि उनी यो पेसामा लागेका हुन् ।

बाजुराको बूढीगङ्गा नगरपालिका–१०, देउमाडौँका जोशीले भने, “काठमाडौँबाट पढाइ सकेर घरमा आएको तीन वर्षजति भयो । मजस्ता पढेलेखेका अधिकांश युवा जागिरको खोजीमा भारतमा भौँतारिरहेका छन् तर म भने पढाइ सकेर गाउँमा आएपछि यो व्यवसायमा निकै व्यस्त भएको छु ।”

यो बङ्गुरपालन व्यवसायबाट अहिले राम्रो आम्दानी गर्न सकिने उनको अनुभव छ । केही लाख रुपियाँबाट सुरु गरेको जोशीको बङ्गुरपालन व्यवसाय अहिले झन्डै १५ लाख रुपियाँको भएको छ । फार्मलाई विस्तार गर्न लगानी बढाउने योजना रहेको जोशीले बताए ।

दानापानी राम्रो खुवाउन सकियो भने आठ महिनादेखि एक वर्षमा बङ्गुर एक सय केजीको हुने उनले बताए। दानाको व्यवस्थापन गर्नसके पैसा कमाउन बङ्गुरपालन व्यवसाय राम्रो हुने उनको अनुभव छ । बङ्गुरपालन गर्दा धेरै परिश्रम गर्नुपर्ने र बङ्गुरको पेट भर्न धेरै चारो चाहिने हुनाले निकै खर्च हुने गर्छ ।

बेतालमांडू, रिठा, डाब, मालिका बजारमा बङ्गुरको मासु बिक्री हुँदै आएको जोशीले बताए । महिनामा १० वटासम्म बङ्गुर बिक्री गर्ने हो भने एक लाख रुपियाँ कमाइ हुने उनको भनाइ छ । बाजुरामा अहिले प्रतिकेजी ३५० रुपियाँमा बङ्गुरको मासु बिक्री हुन्छ तर बजारको मागअनुसार आपूर्ति नभइरहेको जोशीले बताए ।

तिलक जोशीका बुवा वडा सदस्य छन् । उनले पनि कुखुरापालन गर्दै आएका छन् । कुखुरापालनले दुई छोरा र एक छोरीलाई उच्च शिक्षासम्म पढाउन सहज भएको उनका बुवा भोलाराम जोशीले बताए ।

जिल्लामा बङ्गुरपालन कार्यक्रम सुरु भएसँगै खोर निर्माण, मासु पसल सुधार र आवश्यक परामर्श पाउन थालेपछि किसान उत्साहित भएका छन् ।

Comments

Back to top