निर्यात प्रवर्द्धन गर्न दीर्घकालीन नीति आवश्यक,अर्थतन्त्रमा परेको चाप अल्पकालीन

आयात घटाउन र निर्यात बढाउन दीर्घकालीन नीति आवश्यक रहेको सरोकारवालाले बताएका छन् । नेपाल चेम्बर अफ कमर्सको भातृसंस्था युथ चेम्बरले राजधानीमा मङ्गलबार आयोजना गरेको ‘नेपालको विद्यमान आर्थिक अवस्था र चुनौती र समाधान विषयक’ कार्यक्रमका सहभागीले निर्यात प्रवर्द्धन र आयातलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका हुन् ।

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अर्थतन्त्र ट्र्याकमा आउन नसक्नुको मुख्य कारण नीतिगत अस्थिरता भएको बताए । आयात निरुत्साहन तथा निर्यात प्रवद्र्धन गर्ने विषयमा अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल राष्ट्र बैङ्कबीच प्रभावकारी समन्वय हुनुपर्नेमा उनले जोड दिए ।

आयात घटाउँदै जाने र निर्यात प्रवद्र्धन गर्ने गरी अल्पकालीन र दीर्घकालीन नीति बनाएर अगाडि बढ्न उनले सुझाव दिए । अर्थतन्त्रमा जोखिम कायमै रहेकाले सरकार संयम हुनुपर्ने बेला आएको उनले बताए ।

मुलुकको अर्थतन्त्रको महìवपूर्ण हिस्सा ओगट्ने निजी क्षेत्र पनि जिम्मेवार हुनुपर्ने भन्दै खतिवडाले घरजग्गा व्यवसायलाई करको दायरामा ल्याउनुपर्नेमा जोड दिए । शिक्षामा अनावश्यक रूपमा विदेशिएको रकम, हुन्डी कारोबार तथा नेपालीको वैदेशिक भ्रमणलाई केही हदसम्म रोक्ने हो भने पनि त्यसले विदेशी विनिमय सञ्चितिमा सकारात्मक प्रभाव पार्ने उनको भनाइ थियो । सोही कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव गोविन्दबहादुर कार्कीले वैदेशिक विनिमय सञ्चितिमा असर गर्न थालेपछि विलासिताका वस्तु आयात नियन्त्रण गरिएको बताए।

सरकार निजी क्षेत्र विरोधी नभएको भन्दै उहाँले आयातलाई दीर्घकालसम्म असर नगर्ने गरी निर्णय गरिएको उनले स्पष्ट पारे । व्यापार घाटा कम गर्न तथा आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न सरकारले केही वस्तुको आयात रोकेको उनले जानकारी दिए ।

अर्थविद् विश्वास गौचनले अर्थतन्त्रमा केही चाप परे पनि यो अल्पकालीन भएको बताए । नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक श्रेष्ठले सरकारले हचुवाका भरमा वस्तुको आयात रोकेको आरोप लगाए । कुन वस्तु आयात गर्ने, कुन नगर्ने भन्ने विषयमा पहिला निजी क्षेत्रसँग छलफल तथा अध्ययनपछि मात्रै सरकारले निर्णय गर्नुपर्ने उपाध्यक्ष श्रेष्ठको भनाइ थियो । युथ चेम्बरका अध्यक्ष दिपेशरत्न तुलाधरले अर्थतन्त्रका सबै क्षेत्रमा एकैचोटि चाप परेकाले सरकार र सरोकारवालाको ध्यानाकर्षण गराउन खोजिएकोे बताए ।

Comments

Back to top