सुन आयातमा लचकता: बैंकहरु धमाधम सुन भित्र्याउँदै

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १० वस्तुबाहेक अन्यको आयातमा लचकता अपनाएपछि बैंकहरुले सुन आयातका लागि स्वीकृत लिन थालेका छन्। अहिले दुई वाणिज्य बैंकहरुले एक सय किलो सुन ल्याउन स्वीकृति लिइ सकेका छन् । सुन ल्याउनका लागि ग्लोबल आइएमई र प्रभु बैंकले स्वीकृति पाएका हुन् । दुईवटा बैंकले सुन आयातका लागि स्वीकृत पाएको नेपाल बैंकर्स संघले जनाएको छ ।

यी दुवै बैंकले दुबईबाट सुन ल्याउन लागेका हुन् । तर मुस्लिम मुलुक दुबई इदका कारण पर्वको महिना चलिरहेकाले यसले सुन आयात केहि प्रभावित भएको छ । अघिल्लो साता सरकारले आयात कडाइ गरेका सूचीमा सुन नपरेपछि दुई महिनादेखि हुन नसकेको यसको आयातका लागि बाटो खुला भएको थियो ।

यसअघि रुस र युक्रेन युद्ध सुरु भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर एक लाखमाथि गएको थियो । मूल्य आकाशिएसँगै नेपाली बजारमा सुनको माग खुम्चिँदै जाँदा सुनचाँदी व्यवसायीहरुले बैंकबाट सुन किन्न नै छोडेका थिए ।

व्यवसायीले सुन किन्न छोडेपछि वाणिज्य बैंकहरुसँग १६७ किलो सुन झण्डै एक महिना मौज्दातमा बसेको थियो । यसरी भएको सुन व्यवसायीले किन्न चासो नदेखाएपछि बैंकहरुले पनि सुन आयातका लागि स्वीकृति नै लिन बन्द गरेका थिए ।

सरकारले विलासीदेखि विभिन्न अनिवार्य वस्तु समेतको आयातमा रोक लगाउने हल्ला चल्न थालेसँगै व्यवसायीहरुले वैशाखबाट सुरु हुने बिहेको सिजनलाई ध्यानमा राख्दै बैंकसँग भएको सुन उठाउन थालेका थिए ।

सुनचाँदी व्यवसायीहरुले भने बिहेको सिजन सुरु भएकाले सुन खरिदका लागि माग गर्ने क्रम बढाएका छन् । यसैका आधारमा दुई बैंकले सय किलो सुन आयात गर्न खोजेका हुन् ।

Comments

Back to top