शिक्षण छाडेर पशुपालनमा, नमुना रिसर्च सेन्टरसमेत बनाउने योजना
रुपन्देहीको तिलोत्तमा गौतमप्रसाद चौधरी कुनै समयमा शिक्षक थिए । उनले आफ्नो जीवनका महत्त्वपूर्ण १४ वर्ष तिलोत्तमा नगरपालिका–१३ मा रहेको नर्मदेश्वर आधारभूत विद्यालयका विद्यार्थीलाई कखरा सिकाएरै बिताए । अहिले उनै शिक्षकको पेशा बदलिएको छ । उनले सो पेसा छाडेर कृषिकर्ममा रमाउन थालेपछि शिक्षकको परिचय किसानमा बदलिएको छ ।
विद्यालय मर्ज भएपछि नर्मदेश्वरबाट सेमरी माविमा पढाउनसमेत पुगेको उनको अनुभव छ । उनले विद्यार्थीलाई मात्रै होइन, अरूलाई समेत पाठशाला निर्माण गर्ने उद्देश्यले पशुपालन क्षेत्रमा होमिएको बताउँछन् ।
शिक्षक पेसाबाट राजीनामा दिएर ‘गोल्डेन ह्यान्डसेक’ लिएका उनले सोही पैसालाई पशु फर्ममा लगाए । पुर्खौंदेखिको आफ्नो जग्गामा उनले आधुनिक प्रकृतिको पशुपालन फार्म स्थापना गरे । अहिले उनले थारू भैँसी फर्म चलाएका छन् ।
साधारण किसान भएर काम गर्न मन लाग्यो, निकट भविष्यमा एउटा नमुना रिसर्च सेन्टरसमेत बनाउने योजना उनको छ । २०७३ सालमा उनले स्थापना गरेको फार्म अहिले आधुनिकीकरण गर्दै लैजानुभएको छ । फर्म दुई बिघा १२ कट्ठा क्षेत्रफलमा फैलिएको छ । दुई कट्ठा क्षेत्रफलमा फर्म मात्रै स्थापना गरेका उनले हालसम्म एक करोड भन्दा बढी लगानी गरिसकेका छन् ।
अहिले दैनिक ७० लिटरभन्दा बढी दूध उत्पादन हुने उनको फर्मबाट उत्पादित दूध स्थानीय डेरी उद्योगसहित बुटवलसम्म जाने गर्दछ । आधुनिक मुर्रा भैँसी पालेका उनले फार्मलाई अझ विस्तार गरी कम्पोस्ट मलको पिट बनाउने योजना बनाएको सुनाए । यस्तै युरिन पिटसमेत बनाउने योजना उनको छ । सामाजिक क्षेत्रमा नाम चिनाउने काम भएको उनको भनाइ छ । पहिला केही सीमित व्यक्ति, विद्यालयमा मात्रै चिन्ने गरेकामा अब देशले नै चिन्ने गरेको उनले बताए ।
Comments