चिया किसान र उद्योगी मर्कामा

चैत, वैशाख महिना गुणस्तरीय चिया उत्पादनको मुख्य सिजन हो तर यस वर्ष गुणस्तरीय चिया उत्पादन हुने समयमै चियाको मुना नपलाउँदा पूर्वका चिया किसानलाई घाटा भएको छ ।

चियाको मुना किसान र उद्योगी दुवैका लागि फाइदाजनक भए पनि मुना नपलाएर सबै चिया पत्ता भएपछि त्यसको मूल्य पनि कम हुने गरेको छ । मूल्य नै कम भएपछि टिपेको चियाको मुना फाल्न बाध्य भएको किसानले बताएका छन् ।

दुईपात एक सुइरोको चिया हुनुपर्नेमा अहिलेको चियामा पाँच पातभन्दा बढी भएर छिप्पिएपछि त्यो चिया प्रशोधन गर्नुको अर्थ नरहेको कारखाना सञ्चालक बताउँछन् । गुणस्तर कम भएपछि टिपेको चिया कारखानाले पनि फिर्ता गरिदिँदा किसानलाई मर्का परेको हो ।

सूर्योदय नगरपालिकामा रहेका सबैजसो बगानमा अहिले मुना चियाभन्दा बढी पत्ता चिया उत्पादन हुनुले चियाको भविष्य सङ्कटतर्फ गएको चियाका जानकार र अनुभवी बताउँछन् ।

“राम्रोसँग प्लकिङ नहुनु, हातले पत्ती टिप्नको सट्टा मेसिन प्रयोग गर्नु र मेसिन चलाउने व्यक्ति पनि दक्ष नहुनुले सिजनको सुरुमै चियामा समस्या देखियो, श्रमिकको अभाव पनि चियाको गुणस्तर खस्कनुको अर्काे कारण हो,” सूर्योदय टी एसोसिएसनका सचिव गोपाल कट्टेलले भने । चियाको भविष्य अन्योलतर्फ धकेलिएको उनको बुझाइ छ ।

न्यूनतम मूल्य निर्धारण भएन

यहाँका कुनै पनि कारखानाले हरियो पत्तीको मूल्य अहिलेसम्म निर्धारण गरिसकेका छैनन् । ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि २०७५’ कार्यान्वयन गर्न त्यो समयमा उद्योेगी, किसान, नगरपालिका सबै सहमत भएका थिए ।

कार्यविधिमा ४० प्रतिशत मुना हुनुपर्ने र त्यसको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपियाँको व्यवस्था छ । सूर्योदय टी एसोसिएसनमा आबद्ध ६० बढी उद्योगले अहिलेसम्म किसानको हरियो पत्तीको मूल्य निर्धारण गरिनसकेको एसोसिएसनका सचिव कट्टेलले बताए । चियाको गुणस्तर हेरेर न्यूनतम मूल्य तोक्ने तयारीमा उद्योग सञ्चालक छन् ।

अहिले चिया कारखानाले प्रतिकिलो हरियो चियाको मूल्य २० रुपियाँदेखि ३० रुपियाँ दिन थालेको सूर्योदय नगरपालिका मालुमस्थित किसान नरकुमार तामाङले बताए । सूर्योदय नगरपालिकाले हरियो पत्तीको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपियाँ निर्धारण गरेको थियो ।

गुणस्तरमा लापरबाही

किसानले नै कार्यविधिमा भएभन्दा फरक ढङ्गको हरियो पत्ती टिपाइ र सङ्कलन गरेर कारखानामा पठाउनुले किसान पनि सचेत नभएको उद्योगीको आरोप छ । उद्योगीले गएको सिजनमा पनि आफूखुसी ढङ्गले पत्तीको गुणस्तर हेर्ने बहानामा चियाको मुना हेरेर प्रतिकिलोे २० र ३० रुपियाँ निर्धारण गरेपछि गुणस्तरीय पत्ती उत्पादन गर्ने किसानलाई बढी मार परेको सूर्योदय–१२ का किसान पारस राईले बताए । “हातले टिपेको चिया दुईपात एक सुइरो, झारपात नमिसिएको राम्रो हुन्छ ।

त्यसको पनि मूल्य अहिले प्रतिकिलो २०–३० रुपियाँ छ, गुणस्तर राम्रो नभएको चियाको पनि मूल्य उही छ,” राईले भने । राम्रो पत्तीको मूल्य र नराम्रो पत्तीको मूल्य एउटै दिएपछि समस्याको चुरो त्यही रहेको किसान राईको भनाइ छ ।

चियाको न्यूनतम मूल्य प्रतिकिलो ४० रुपियाँ तोकेर मूल्यमा एकरूपता कायम गर्ने प्रयास गर्दा पनि सफल नभएको सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राईले बताए । “हामीले चियाका लागि धेरै प्रयास गर्न खोजेका हौँ तर सफल भएका छैनौँ, बिचौलियाले गर्दा पनि किसानले मूल्य पाउन सकेका छैनन् ।

कारखानाले दिएको मूल्य लुकाएर पनि किसानलाई कम मूल्य बिचौलियाले दिने गरेका रहेछन्,” प्रमुख राईले भने ।किसानको चिया बगानबाट हरियो पत्ती सङ्कलन गर्दै चिया कारखानासम्म पुर्याउने बिचौलिया चियाको मूल्य कम हुनुको मुख्य कारण पाइएको नगरप्रमुख राईको भनाइ छ ।

Comments

Back to top