असमान ज्याला स्वीकार नगर्ने महिला श्रमिकको भनाई

अनौपचारिक क्षेत्रका श्रमिक महिलाले समान कामका लागि समान ज्याला पाउनु पर्ने आवाज उठाएका छन् । अन्तर्राष्ट्रिय श्रम दिवसको पूर्वसन्ध्यामा होमनेट नेपालको अगुवाइमा नेपाल महिला एकता समाज, राष्ट्रिय महिला अधिकार मञ्च, जिफन्ट, एनटीयूसी र एक्सन एडद्वारा संयुक्त रुपमा आयोजित विचार गोष्ठीमा सो आवाज उठाइएको हो ।

अनौपचारिक क्षेत्रमा कार्यरत् ८ जना महिला श्रमिकले सरकारी निकायका अधिकारी, श्रम संगठन तथा नीजि क्षेत्रका प्रतिनिधिसामु आफ्ना पीडा र संघर्षका कथा सुनाएका थिए ।

पहिलो पटक सार्वजनिक कार्यक्रममा आफ्ना धारणा राखेका ती श्रमिक महिलाले महिला र पुरुषको ज्याला बराबर हुनुपर्ने, कार्यस्थलमा सम्मानजनक व्यवहार हुनुपर्ने, घर तथा समाजदेखि सरकारी तथा अन्य कार्यालयमा महिला श्रमिकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुनुपर्नेमा जोड दिए ।

गोदावरी नगरपालिकाकी गृहश्रमिक लक्ष्मी वली, दक्षिणकालीकी कृषि मजदूर शिला पुर्कुटी, शंकरापुर–८ की कृषि मजदूर शर्मिला तामाङ, शंखमुलकी घरेलु श्रमिक लक्ष्मी क्षेत्री, कीर्तिपुरकी गृहश्रमिक उषा महर्जन, वसन्तपुरकी घरेलु श्रमिक सरिता श्रेष्ठ, शंकरापुरकी कृषि श्रमिक डोल्मो नेसुर र बडिखेलकी गृहश्रमिक मनिता तामाङ पहरी लगायतका महिला श्रमिकहरुले आफ्ना संघर्षका कथा सुनाए ।

कृषि श्रमिक नेसुरले आफू पनि अब असमान ज्यालामा काम नगर्ने बाचा गर्दै अरु श्रमिक महिलालाई पनि समान कामका लागि समान ज्याला दाबी गर्न आह्वान गरे । “समान ज्याला नपाए काममै नजाउँ, बरु आफ्नै घरको काम गरौं,” उनले भनिन् ।

संविधान तथा कानूनले समान कामका लागि समान ज्याला र विभेदरहित रोजगार सुनिश्चित गरेपनि व्यवहारमा विभेद कायम रहेको गुनासो महिलाहरुले गरे ।

संघर्षका कथा सुनेपछि स्वास्थ्य मन्त्रालयकी लैंगिक समानता तथा सामाजिक समावेशीकरण शाखाकी प्रमुख रोशनीदेवी कार्कीले संविधान, कानून र सरकारले ल्याएका विभिन्न कार्यक्रममा लैंगिक समानताका हक सुनिश्चित गरेको हुँदा ती अधिकार प्राप्तिका लागि सम्बन्धित व्यक्ति आफै अघि बढ्नुपर्ने बताईन् ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले अनौपचारिक क्षेत्रमा कार्यरत् श्रमिकका लागि पनि स्वास्थ्य उपचार लगायतका सामाजिक सुरक्षा योजनाहरु लागु गर्न लागेको जानकारी दिए ।

आगामी आर्थिक वर्षदेखि तोकिएका अस्पतालमा अनौपचारिक श्रमिकहरुको पनि स्वास्थ्य उपचार गर्ने कार्यक्रम लागु गर्न लागिएको श्रमिकहरुबीच ज्ञवालीले जानकारी दिए ।

Comments

Back to top