रेसुङ्गामा विमानस्थल बन्ने सपना चाँडै पूरा हुने
गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका –१०, सिमिचौरमा निर्माणाधीन रेसुङ्गा विमानस्थलको काम अन्तिम चरणमा पुगेको छ । १५ वर्षअघि शिलान्यास भएको उक्त विमानस्थलको निर्माण काम अन्तिम चरणमा पुगेको आयोजनाका सहायक प्रमुख इन्जिनियर दिनेश परियारले जानकारी दिए ।
२०६३ सालमा तत्कालीन पर्यटनमन्त्री प्रदिपकुमार ज्ञवालीले उक्त विमानस्थलको शिलान्यास गर्नुभएको इन्जिनियर परियारले बताए । यही बैशाखभित्र परीक्षण उडान हुनेगरी काम भइरहेको उनले बताए । अहिले हामी विमानस्थलको सबै कामको अन्तिम चरणमा पुगेका छौं उनले भने । अबको केही दिनमा निर्माणको सबै काम सकेर बैशाखभित्र परीक्षण उडान गर्ने उनको भनाई छ ।
विमानस्थलमा २०७५ जेठ २५ गते तारा एयरको विमानले कच्ची उडान गरेको थियो । विमानस्थलमा विभिन्न चरणका कामहरु फरक–फरक निर्माण व्यवसायीबाट भइरहेका थिए । टर्मिनल भवनसहित कन्ट्रोल टावर नेपाल नागरिक उड्डयन प्राधिकण एरोड्रो इन्जिनीयरिङ्ग विभागमार्फत् बोकोई श्रेष्ठ कन्सट्रक्सन जेभीले निर्माण गरेको छ ।
विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर ४ करोड ५ लाख २९ हजार ६ सय १० रुपियाँको लागतमा निर्माण गरिएको हो । त्यस्तै, अर्को महत्वपूर्ण संरचना धावनमार्ग कालोपत्रे गर्ने काम सकिएको छ । धावनमार्ग ५ सय २० मिटर लम्बाई र २० मिटर चौडाइको छ ।
रौताह हरिहरि जेभीले धावनमार्ग कालोपत्रे गरेको हो । रौताह हरिहरि जेभीले धावनमार्ग कालोपत्रे ७ करोड २५ लाख लगानीमा गरेको बताइएको छ । कोभिड, निर्माण सामग्री र निर्माण व्यवासायी आफैको ढिलासुस्तीका कारण समयमा काम नभएको कार्यालयले जानकारी गराएको छ ।
एकसय ५६ रोपनी क्षेत्रफलमा फैलिएको विमानस्थलको ७९ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । शिलान्यास समयदेखि विस्थापितलाई स्थापित, जग्गा अधिग्रहणदेखि कटिङ्ग, फिलिङ्ग, टेवा पर्खाल, बाह्य ढल निर्माण, धावनमार्ग र टर्मिनलसहित कन्ट्रोल टावर निर्माणसम्मको खर्च ३५ करोड रुपियाँ भएको इन्जिनियर परियारले जानकारी दिए ।
Comments