अमेरिकामा राष्ट्रपति पदका लागि मतदान शुरू, ह्यारिस र ट्रम्पबीच कडा प्रतिस्पर्धा

अमेरिकामा राष्ट्रपति पदका लागि मतदान शुरू भएको छ । भर्मन्ट राज्यबाट शुरू भएको मतदान क्रमशः अरू राज्यमा पनि शुरू भएको र शान्तिपूर्ण रूपमा चलिरहेको बीबीसीले जनाएको छ ।  मतदान नेपाली समयअनुसार भोली बिहान झन्डै ६ बजेसम्म चल्नेछ ।

चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट वर्तमान उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन पार्टीबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा भइरहेको छ ।

अमेरिकामा २३ करोड १० लाख व्यक्ति मतदानका लागि योग्य भए पनि १६ करोड ८० लाखले मात्र मतदानका लागि नाम दर्ता गरेको तथ्याङ्क छ । चुनावको मुख्य दिनअघि नै आठ करोड १३ लाखभन्दा धेरै मतदाताले अग्रिम मत खसालिसकेका छन् । धेरैजसो राज्यमा चुनावको दिनअघि नै मतदाताहरूलाई अग्रिम मत दिने सुविधा दिइएको हुन्छ । सन् २०२० मा १० करोड १० लाख अग्रिम मतदान भएको थियो ।

अमेरिकाको राष्ट्रपतीय चुनाव इलेक्टोरल कलेज भनिने निर्वाचक मण्डलमा आधारित छ । पाँच सय ३८ इलेक्टोरल कलेजमध्ये दुई सय ७० मत ल्याउनेले जीत हासिल गर्न सक्नेछन् । सर्वेक्षणहरूले ट्रम्पभन्दा ह्यारिस केही अघि रहेको देखाएको छ । तर याे चुनाव इतिहासकै कडा प्रतिस्पर्धा रहेको बीबीसीले आफ्नो लेखमा उल्लेख गरेको छ ।

अमेरिकामा हुने सत्ता परिवर्तनले विश्वलाई प्रत्यक्ष, अप्रत्यक्ष रूपमा प्रभाव पार्ने गर्छ । यो चुनावमा ह्यारिस विजयी भएमा दुई सय ४८ वर्षको इतिहासमा पहिलो महिला राष्ट्रपतिको इतिहास निर्माण हुनेछ ।

यस्तै आज हुने चुनावबाट सङ्घीय संसद्को तल्लो सदनका सबै चार सय ३५ सदस्य र एक सय सदस्यीय माथिल्लो सदन सिनेटका ३३ सदस्य पनि निर्वाचित हुँदैछन् । अमेरिकामा सामान्यतयाः विजेता प्रायः चुनाव सकिएको राति नै वा भोलिपल्ट बिहानै मतदाताले थाहा पाउने गरेका छन् । तर केही विशेष परिस्थितिमा चुनावको परिणाम आउन समय लाग्न सक्ने हुन्छ ।

एजेन्सी

Comments

Back to top