बच्चाको स्मरणशक्ति बढाउने उपाय

कुनैपनि कुरा ग्रहण गर्ने तरिका र क्षमता भिन्न–भिन्नै हुन्छ, हरेक बच्चामा । पढेको, हेरेको, सुनेको कुरा बुझ्न र स्मरण गर्न सक्ने क्षमतामा पनि एकरुपता हुँदैन । कोही तिक्ष्ण बुद्धिका हुन्छन्, कोही कमजोर ।

त्यसैले बच्चालाई एकअर्कासँग तुलना गरेर हेर्नु आफैमा मूर्खता हो । प्रायः अभिभावकको गुनासो हुन्छ, ‘मेरो बच्चाले पढेको कुरा सम्झन सक्दैन ।’ यसमा उसको ग्रहण गर्ने क्षमता मात्र होइन, पढाउने वा बुझाउने विधिमा पनि कमजोरी हुन्छ।

कुनैपनि कुरा पढाउँदा, बुझाउँदा कसरी प्रभावकारी हुन्छ भन्ने कुरामा हामीले ख्याल गर्नुपर्छ, ताकि बच्चाले त्यसलाई सहजै स्मरण गर्न सकोस् ।

भिजुअलाइज गर्ने प्रयास गरौं 

कुनैपनि कुरा स्मरणीय बनाउन एवं सहजै ग्रहण गर्नका लागि राम्रो तरिका हो, भिजुअलाइज गर्नु । जुन कुरा हामी बच्चालाई पढाउन वा बुझाउन खोज्छौं, त्यसलाई सदृश्य प्रस्तुत गर्नुपर्छ ।

बच्चाको दिमागमा त्यसको तस्विर बनाउन सकिन्छ, जुन उसले पढ्ने कोसिस गरिरहेको छ । यसका लागि भिजुअल गेम्स, प्ले कार्ड्स जस्तै कुनैपनि चिजको साहारा लिन सकिन्छ। हरेक कुरा बुझाउँदा बच्चाको मस्तिष्कमा त्यसको तस्विर उतार्ने प्रयास गर्नुपर्छ ।

उसलाई पढाउन दिनुहोस्

बच्चाहरु आफुभन्दा ठूलाको नक्कल गर्न खोज्छन् । उनीहरु शिक्षक जस्तै बनेर पढाउने अभ्यास पनि गर्छन् । यसलाई अभिभावकले थप प्रेरित गर्नुपर्छ । बच्चालाई शिक्षक जस्तै बन्न दिने र उसले जानेको कुरा पढाउने अभ्यास गराउनुपर्छ ।

पढाउने काममा अभ्यस्त हुँदै गएपछि अलि जटिल विषयमा पनि उसलाई पढाउन प्रेरित गर्नुपर्छ । जब उसले पढाउन थाल्छ, ठूलो स्वरले बोल्न लगाउने । बोर्डमा लेख्न लगाउने । साथै उसले पढाएको कुरा दोहोर्‍याउन लगाउने । यसले उसको स्मरण क्षमता बढाउँछ ।

प्रश्न सोधौं 

जब तपाई बच्चाको साथमा रहन्छ, केही प्रश्न गर्नुहोस् । जस्तो कि, तिम्रो दिन कसरी बितिरहेको छ ? बिद्यालयमा तिम्रो साथी को–को छन् ? इत्यादी । उसले खाएको खानेकुरा वा लगाएको लुगाको बारेमा पनि प्रश्न गर्नुहोस् ।

अघिल्लो हप्ता उसले सबैभन्दा मीठो खानेकुरा के खाएको थियो ? वा उसको रमाइलो क्षण कुन थियो ? जस्ता प्रश्नले पनि उसको स्मरण शक्ति बढाउन मद्दत गर्छ ।

कलर कोड

कुनैपनि अक्षर चिनाउँदा वा पढाउँदा रंगको माध्यम अपनाएर स्मरणिय बनाउन सकिन्छ । अक्षरलाई भिन्न भिन्नै रंगले हाइलाइट गर्ने वा अन्डरलाइन गरेर पढाउँदा उनीहरुले रंगको माध्यमबाट पनि सो कुरा स्मरण गर्न सक्छन् ।

जानकारीलाई टुक्रा–टुक्रा गर्ने

खानेकुरा जस्तै कुनैपनि जानकारीलाई स–सानो हिस्सामा बाँडनुहोस । जस्तो कुनै पाठ, कथा, कवितालाई एकमुष्ठ पढाउने भन्दा पनि स–सानो हिस्सामा विभाजन गरेर पढाउनु पर्छ । होमवर्कलाई पनि यसैगरी विभाजित गर्न सकिन्छ, ताकि उसले त्यसलाई सजिलै र लामो समयसम्म याद राख्न सकोस् ।

एजेन्सी

Comments

Back to top