सर्वोच्चको आदेशसँगै धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया थप लम्बिने

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रकृया थप लम्बिने भएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले असार १८ गतेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएसँगै रिटको अन्तिम फैसला नभएसम्म अध्यक्ष चयन प्रकृया रोकिने भएको हो ।

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया खारेजीपछि आकांक्षीमध्येका एक सन्तोष नारायण श्रेष्ठले हालेको मुद्दामा शुक्रबारको संयुक्त इजलासले न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले गत मंगलबार गरेको निर्णयलाई निरन्तरता दिएको हो ।

सरकारले धितोपत्र बोर्डको अध्यक्ष सिफारिस गर्न गठन गरेको समिति विघटन गर्दै अध्यक्ष नियुक्तिको सबै प्रकृया रद्द गरेपछि परेको रिटमा मुसलमानको इजलासले गत मंगलबार नयाँ अध्यक्ष छनोट प्रक्रिया रोक्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो । शुक्रबार न्यायाधिसहरु सपना प्रधान मल्ल र बालकृष्ण ढकालको संयुक्त इजलासले एकल इजलासको निर्णयलाई सदर गरेको हो ।

एजेन्सी

Comments

Back to top