अल्पमतमा जसपा नेतृत्वको मधेस सरकार, अब लोसपा र जनमतसहितको अर्को गठबन्धन
मधेस सरकारबाट प्रमुख घटकहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाहिरिएसँगै मुख्यमन्त्री सरोजकुमार यादव अल्पमतमा परेका छन् ।
यसअघि १ सय ७ सदस्य प्रदेशसभा सदस्यहरु मध्ये ६१ प्रदेशसभा सदस्यहरुको विश्वास पाएका मुख्यमन्त्री यादव नेतृत्वको सरकारबाट एमाले र माओवादी आइतबार बाहिरिएसँगै उनी अल्पमतमा परेका हुन् ।
मधेस सरकार अल्पमतमा परेपछि जसपा नेपालबाहेकका नेकपा एमाले, माओवादी केन्द्र, जनमत र लोकतान्त्रिक समाजवादी पार्टी मिलेर नयाँ सरकारको तयारी थालेका छन् ।
यी दलहरूबीच आगामी सरकार निर्माणका लागि छलफल भएपछि मात्रै एमाले र माओवादी सरकारबाट बाहिरिएर समर्थन पनि फिर्ता लिएका थिए।
उक्त बैठकमा मन्त्रालयको भागबण्डाबारे समेत कुराकानी भएको श्रोतले जनाएको छ ।
सरकार अल्पमतमा परे पनि मुख्यमन्त्री यादवले बहुमत साबित गर्न अब ३० दिनको समय पाउने छन् ।
तर उता माओवादी केन्द्रले भने सरकार अल्पमतमा परिसकेकाले नैतिकताका आधारमा सत्ताबाट बाहिरिन जसपा नेपाललाई आग्रह गरेको छ ।
मधेश प्रदेशमा १०७ सांसद छन् । जसमध्ये लोसपा संसदीय दलका नेता अभिराम शर्मा निलम्बित छन् । उनीबाहेक लोसपाका ८, एमालेका २५, माओवादीका ९ र जनमतका १३ जोड्दा ५५ पुग्छ । यहाँ सरकार बनाउन ५४ सांसद आवश्यक पर्छ ।
यता मुख्यमन्त्री यादव भने मन्त्रिपरिषद् पुनर्गठन तयारीमा जुटेका छन् । उनले विश्वासको मत सामना गर्ने मनस्थितिसाथ अगाडि बढने भन्दै मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको जसपा स्रोतले जनाएको छ ।
एजेन्सी
Comments